बीपी स्मृति दिवसमा बुटवलमा साहित्य साँझ : तीन दर्जन बढी स्रष्टाले गरे साहित्यिक प्रस्तुती

1.3K

बीपी स्मृति दिवसमा बुटवलमा साहित्य साँझ : तीन दर्जन बढी स्रष्टाले गरे साहित्यिक प्रस्तुती

बीपी स्मृति दिवसको अवसरमा मंगलबार बुटवलमा ‘बीपी साहित्य साँझ’ कार्यक्रम गरिएको छ । नेपाली काँग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोईरालाको ४३ औं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देहीले आयोजना गरेको उक्त कार्यक्रममा तीन दर्जन बढी स्रष्टाले साहित्य सिर्जना प्रस्तुत गरे ।
कार्यक्रममा बीपी कोइरालाको व्यक्तित्व, विभिन्न लोकतान्त्रिक आन्दोलनको नेतृत्व, प्रजातन्त्र स्थापनको लागि गरिएको योगदान, समाजवाद, सिद्धान्त र साहित्यका बारेमा चर्चा गर्दै ३७ जना साहित्यकारले कविता, गजल र मुक्तक लगायतका साहित्य सिर्जना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले बीपीले राजनीतिक यात्रासंगै तय गरिएको समाजवादको नारा अहिले सबै राजनीतिक दलहरुले जप्दै हिडेको बताउनु भयो । उहाँले बीपीका सिद्धान्त र विचारलाई पार्टी र सरकारले जति आत्मसाथ गर्नुपर्ने हो त्यति गर्न नसकिएको बताँउदै साहित्य साँझ कार्यक्रमले नेतृत्वलाई मार्गनिर्देश दिने विश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रमका नेपाली काँग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकालले बीपीका धेरै कार्यक्रममासंगै सहकार्य गर्ने अवसर पाएको अनुभव सुनाउनु भयो । उहाँले शब्दमा वीपीको विचार व्यक्त गर्न नसकिने बताउँदै बीपिमा शान्तिपूर्ण र ससस्त्र दुबै आन्दोलनको अनुभव रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देहीका सभापति प्रजापाल गिरीले हजुरबुवा देखि नाती र पनातीसम्म चार पुस्ताले बीपीको सिद्धान्त र विचारलाई एकै स्थानमा रहेर कविता, गजल मुक्तक लगायतका साहित्यक रचनाका माध्यमबाट बीपिलाई स्मरण गर्दै बुझाइमा एकरुपता ल्याउनका लागि बीपी स्मृति साहित्य साँझ कार्यक्रम गरिएको बताउनु भयो ।
नेपाली काँग्रेस क्षेत्र नम्बर २ रुपन्देहीका सचिव विमलराज भट्टराईको संचालन तथा उपसभापति खड्गबहादुर महतको स्वागतमा सम्पन्न बीपी स्मृति साहितय साँझ कार्यक्रममा पार्टीका नेता कार्यकर्ता, भातृ तथा सुभेच्छुक संस्थाका प्रतिनीधि, बुद्धिजिबी सहित्यकार, पत्रकार लगायतको सहभागिता रहेको थियो ।