नेकपा एमालेले आगामी महाधिवेशनमा नेतृत्वमा हुने प्रतिस्पर्धामा कसैलाई पनि नरोकिएको बताएको छ । केन्द्रीय समितिको बैठक पछि बुधबार पार्टी कार्यालय च्यासलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले पार्टी विधाले जो सुकैलाई प्रतिस्पर्धा गर्न सक्ने अधिकार दिएको बताउनु भएको हो । उहाँले भन्नुभयो–‘हाम्रो व्यवस्थाले कसैलाई पनि छेकेको छैन । प्रतिस्पर्धी बन्ने अधिकार सुरक्षित छ ।’
उहाँले दुई वर्षे कार्यकाल र ७० वर्षे उमेरहदको विषय हटाउनुले अध्यक्षको दाबेदार ओली नै हो भन्ने कुरा राजनीतिक भएको पनि बताउनु भयो ।
उहाँले राजनीति कसैलाई छेकेर कसैलाई स्थापित गर्ने कुरा नभएको बताउँदै ७० वर्ष पुगेको व्यक्तिले पनि स्वभाविक रुपमा नेतृत्वको श्रेष्ठता हासिल गर्न सक्छ भने उसलाई किन अघि नबढाउने भन्ने आधारमा यो निर्णय भएको बताउनु भयो ।
नेकपा एमालेको केन्द्रीय समिति बैठकले दुई कार्यकाल र ७० वर्षे उमेर हद हटाउँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्किने बाटो बन्द गरिदिएको छ ।
एमालेले मुलुकको राष्ट्राध्यक्ष भइसकेको व्यक्ति अवकाश प्राप्त गरिसकेपछि राजनीतिमा फर्किने विषय संविधानले परिकल्पना नगरेको उल्लेख गरेको ।
‘संवैधानिक राष्ट्राध्यक्षको व्यवस्था रहेको हाम्रो लोकतान्त्रिक प्रणाली कार्यकारी प्रमुखका रुपमा राष्ट्रपति रहने मुलुकको प्रबन्ध भन्दा भिन्न रहेको स्पष्ट छ,’ एमालेले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ– ‘यस्तो गरिमामय भूमिकामा रहेको राष्ट्राध्यक्षले पदीय जिम्मेवारीमा रहँदा पनि र त्यसबाट अवकाश प्राप्त गरिसकेपछि पनि आफ्नो दलीय आबद्धतामा फर्किने विषय नेपालको संविधानले परिकल्पना गरेको देखिँदैन ।’
पूर्व राष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरणबारे व्याख्या गर्दै एमालेले पूर्वराष्ट्रपति राजनीतिमा सक्रिय हुनु राजनीतिक मान्यता विपरित रहेको जनाएको छ ।
नेपालको संविधानले राष्ट्रपतिलाई राष्ट्रिय एकताको प्रतीक, संविधानको संरक्षक, पालनकर्ता र नेपाली सेनाको पराधिपति जस्ता दायित्व सुम्पिएको बताउँदै महासचिव पोखरेलले यो भूमिका आफैमा अत्यन्त सम्मानित, गरिमायुक्त र ऐतिहासिक महत्वको रहेको भनाई राख्नुभयो ।
यस्तो गरिमामय भूमिकामा रहेको राष्ट्राध्यक्षले पदीय जिम्मेवारीमा रहँदा पनि र त्यसबाट अवकाश प्राप्त गरिसकेपछि पनि आफ्नो दलीय आबद्धतामा फर्किने विषय नेपालको संविधानले परिकल्पना गरेको देखिँदैन – विज्ञप्तीमा भनिएको छ ।