पूर्वाधार विकासमा पब्लिक–प्राइभेट पार्टनरशिप मोडेलमा जान सकिन्छ : मुख्यमन्त्री आचार्य

1.3K

पूर्वाधार विकासमा पब्लिक–प्राइभेट पार्टनरशिप मोडेलमा जान सकिन्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको पूर्वाधार विकासमा पब्लिक–प्राइभेट मोडलमा जान सकिने बताउनु भएको छ ।
नेपाल इञ्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेशले ६३ औं इञ्जिनियर्स दिवसको अवसरमा शुक्रबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले पूर्वाधार विकासमा पब्लिक–प्राइभेट पार्टनरशिप मोडेलमा जान सकिने गरी कानुनी आधारहरू तय गरिसकिएको बताउनु भएको हो ।
उहाँले हरेक क्षेत्रमा प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर हरेक क्षेत्रमा अघि बढ्न तयार रहेको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘लुम्बिनी प्रदेश सरकारले पूर्वाधार प्राधिकरण ऐन बनाएको छ, जसमा स्पष्ट रूपमा निजी क्षेत्रसँग सहकार्य गर्ने आधार राखिएको छ । प्रदेश सरकार निजी क्षेत्रको प्रचुर विकासमा सहजीकरणको वातावरण निर्माण गर्न प्रतिबद्ध छ । दोस्रो आवधिक योजनाका लक्ष्यहरू हासिल गर्न निजी क्षेत्रसँग सहकार्य अनिवार्य छ ।’

उहाँले सरकारको लगानी सन्तुलित रूपमा अघि बढिरहेको बताउँदै चालू खर्च घटाउन प्रदेश सरकार अग्रस्थानमा रहेको भनाई राख्नुभयो । मुख्यमन्त्री आचार्यले स्थायी इञ्जिनियर जनशक्ति तयार पार्ने योजनाका साथ प्रदेश सरकार अघि बढिरहेको जानकारी दिनुभयो । उहाँले इञ्जिनियर समुदायले विज्ञान, प्रविधि र पूर्वाधार विकासमार्फत राष्ट्र निर्माणमा पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै भन्नुभयो, ‘पूर्वाधारविना आर्थिक विकास सम्भव छैन, र इञ्जिनियरबिना पूर्वाधार सम्भव छैन । त्यसैले राष्ट्रको समुन्नतिको साँचो इञ्जिनियरहरूको हातमा छ ।’
नेपाल इञ्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष ईञ्जिनियर महेश्वर लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, नेपाल इञ्जिनियर्स एसोसिएसनका केन्द्रीय अध्यक्ष ईञ्जिनियर सुभासचन्द्र बराल, बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे लगायतले लुम्बिनी प्रदेशलाई पूर्वाधार विकासको माध्यमबाट समृद्ध बनाउन सकिने पर्याप्त सम्भावना रहेकोमा जोड दिनुभएको थियो । त्यस अवसरमा विभिन्न विषयमा प्यानल छलफल समेत गरिएको थियो ।