नागरिक उन्मुक्ति पार्टी (नाउपा) को संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदमुक्त गरिएको छ । अध्यक्ष श्रेष्ठलाई बहुमत केन्द्रीय सदस्यहरूले हटाउने प्रस्ताव पारित गरेको हो ।
पार्टीले निर्णय लिएपनि कानुनी बाध्यता र निर्वाचन आयोगले गर्नसक्ने निर्णयलाई आधार बनाएर थप निर्णय हुने उक्त पार्टीका नेताहरूले बताएका छन् । रेशम चौधरीले जेलभित्रैबाट पार्टी गठन गर्दा २०७८ पुस १९ मा निर्वाचन आयोगमा दल दर्ता गर्दा रञ्जितालाई अध्यक्ष बनाईएको थियो । रञ्जिता रेशम चौधरीकी श्रीमती हुनुहुन्छ ।
पार्टी संरक्षक चौधरीले २०८० पुसमा भएको पहिलो महाधिवेशन अनुसारको कार्यसमितिले मान्यता पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालत गएपछि पूर्वमन्त्री समेत रञ्जिताले जन्मकैदको सजाय भोगी कारागारमा बसेको अवस्थामा राजनैतिक दलको सदस्यता प्रदान हुने अवस्था नभएको, महाधिवेशनबाट केन्द्रीय अध्यक्ष चुनिने टाढाको कुरा रहेको र संगठित सदस्यता प्राप्त गरी महाधिवेशनमा भाग लिन पाउने अवस्था समेत नहरेको अदालतलाई लिखित जवाफ पेस गर्नुभएको थियो ।
संगै निर्वाचन आयोगले पहिलो महाधिवेशनबाट रेशमलाई अध्यक्ष बनाउने निर्णय अस्वीकार गरेको थियो । जग्गाको घुसकाण्डमा संलग्न भएको तथ्यहरू बाहिर आएपछि त्यसका बारेमा पार्टी बैठकमा आएर स्पष्टीकरण दिन संरक्षक रेशमले आग्रह गर्नुभएको थियो । संरक्षक चौधरीका अनुसार पार्टीमा आएर स्पष्टीकरण दिनको साटो शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोक्ने निर्णय मन परेको थिएन । रञ्जिताले पार्टीले सोधेको स्पष्टीकरण नदिएपछि उनलाई पदमुक्त गर्न थप बल पुगेको हो ।