पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक विस्तारको काम तेस्रो पटक थपिएको समयसिमामा सकिएको छैन । यो सडक निर्माका लागि ठेक्का सम्झौता भएको मितिले ७ वर्ष पुरा भएको छ । बुटवलदेखि नारायणगढ ११३ किलोमिटर सडक विस्तारका लागि सरकारले पहिलो पटक २०७९ साउन भित्र सक्नेगरी २०७५ चैतमा ठेक्का सम्झौता गरेको थियो ।
यो ७ वर्षको विचमा करिव ७० प्रतिशत काम पुरा भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार एकतर्फी १ सय किलोमिटर र दुईतर्फी ८० किलोमिटर कालोपत्रे भएको छ । पूर्वपश्चिम राजमार्गमा सडक विस्तारको काम समयमै नसकिँदै दैनिक हजारौं यात्रुले हैरानी व्यहोर्नु परेको छ ।
पहिलो पटक कोरोना महामारी र निर्माण सामाग्रिको अभाव देखाएर २०८० साउन ११ गतेभित्रै सक्नेगरी म्याद थप गरिएको थियो । त्यसमा काम नसकिएपछि दोस्रो पटक २०८१ साउन ८ गतेभित्रै सक्नेगरी समय थप गरियो । काम सकिएन । तेस्रो पटक २०८२ साउन ८ भित्रै सक्नेगरी समय थपिएपनि काम पुरा हुन सकेको छैन ।
यो सडकलाई दाउन्ने पूर्व र दाउन्ने पश्चिम गरी दुई खण्डमा विभाजन गरी ठेक्का लगाईएको थियो । दुबै खण्डको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको थियो ।
१६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैंयामा ठेक्का सम्झौता भएको यो सडक कहिले सकिन्छ विभागकै अधिकारीहरु प्रष्ट छैनन् । यो सडकको सबैभन्दा बढी समस्या दाउन्ने खण्डमा छ । आयोजना निर्देशनालयले वर्षाका बेला कालोपत्रको काम नहुने भएकाले समस्याग्रस्त दाउन्ने खण्डको काम दशैभित्र सकिने र पुरै आयोजनाको काम सक्न अझै १ वर्ष लागने अनुमान गरेको छ । अहिले दाउन्ने खण्डमा सडक ढलानको काम भईरहेको छ ।