बुटवल-नारायणगढ सडक विस्तार आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्नेगरी १ वर्ष म्याद थपिएकाे छ । सरकारले सडक विस्तारकाे सम्पूर्ण काम सक्नेगरी २०८३ साउन ९ गते अन्तिम पटकका लागि म्याद थप गरेकाे हाे ।
११३ किलाेमिटर बुटवल-नारायणगढ सडक विस्तारका लागि याे चाैथाे पटक म्याद थप भएकाे हाे ।
कुल १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैंयामा ठेक्का सम्झौता भएको सडक विस्तारका लागि सरकारले पहिलो पटक २०७९ साउन भित्र सक्नेगरी २०७५ चैतमा ठेक्का सम्झौता गरेको थियो । यो ७ वर्षको विचमा करिव ७० प्रतिशत काम पुरा भएको आयोजनाले जनाएको छ ।
पहिलो पटक कोरोना महामारी र निर्माण सामाग्रिको अभाव देखाएर २०८० साउन ११ गतेभित्रै सक्नेगरी म्याद थप गरिएको थियो । त्यसमा काम नसकिएपछि दोस्रो पटक २०८१ साउन ८ गतेभित्रै सक्नेगरी समय थप गरियो । काम सकिएन । तेस्रो पटक २०८२ साउन ८ भित्रै सक्नेगरी समय थपिएपनि काम पुरा हुन सकेको छैन ।
यो सडकलाई दाउन्ने पूर्व र दाउन्ने पश्चिम गरी दुई खण्डमा विभाजन गरी ठेक्का लगाईएको थियो । दुबै खण्डको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको थियो ।