पत्रकारलाई विपद् तथा जलवायु सम्बन्धि अभिमुखिकरण

1.3K

पत्रकारलाई विपद् तथा जलवायु सम्बन्धि अभिमुखिकरण

रुपन्देहीका पत्रकारलाई विपद् तथा जलवायु सम्बन्धि अभिमुखिकरण गरिएको छ । विकास तथा प्रकोप व्यवस्थापन केन्द्र (सि.डि.एम. नेपाल) को आयोजनामा विहिबार रुपन्देहीको तिलोत्तमामा जिल्लाका पत्रकारहरुलाई अभिमुखिकरण गरिएको हो ।
कार्यक्रममा प्रकोप, प्रकोपबाट उत्पन्न हुने विपद्, विपद्को जोखिम न्यूनिकरण, त्यसका लागि तीनै तहका सरकारको भूमिका, ऐन तथा कानुनी व्यवस्था, नीति तथा नियम, विपद्मा परेका व्यक्ति तथा समुदायका लागि राहत तथा पुनस्थापना गर्न भएका व्यवस्था, विपद्को पूर्व तयारी लगायतका विषयमा जानकारी गराईएको थियो ।
कार्यक्रममा बोल्दै विकास तथा प्रकोप व्यवस्थापन केन्द्रका उपाध्यक्ष जगन्नाथ कुर्मीले नेपालमा प्रकोपको सम्भावना अत्यधिक रहेको र प्रकोपबाट उत्पन्न हुने विपद्को जोखिम न्यूनिकरणका लागि सूचनाको महत्व अत्यधिक हुने भएकाले प्रभावकारी सूचना सम्प्रेषणका लागि पत्रकारहरुका लागि अभिमुखिकरण गरिएको बताउनु भयो ।
त्यस अवसरमा लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका वरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेले विपद् व्यवस्थापनमा सरकारी तहबाट भएका प्रयासहरु, प्रदेश विपद् व्यवस्थापन सम्बन्धि कानुनहरु, समस्या र चुनौती लगायतका बारेमा जानकारी गराउनु भयो । त्यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत विजयसिंह ठकुरीले चालु मनसुनी अवधिमा सरकारको तर्फबाट भएका विपद् जोखिमको प्रक्षेपण, त्यसमा सरकारको तयारी, लगायतका बारेमा जानकारी गराउनु भयो । उहाँका अनुसार लुम्बिनी प्रदेशमा चालु मनसुनी अवधिमा १ लाख १९ हजार ८३० घरधुरी र ५ लाख २३ हजार ६५६ जनसंख्या प्रभावित हुने प्रक्षेपण गरिएको छ ।
त्यसअवसरमा सिडिएम नेपालको तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकामा कार्यरत रुपक ज्ञवाली र पत्रकार भवानीप्रसाद पाण्डेयले विपद्जन्य सूचनाका स्रोतहरु, तथ्य र तथ्यांकका बारेमा प्रकाश पार्नुभएको थियो ।
विपद्को क्षेत्रमा काम गर्दै आएको विकास तथा प्रकोप व्यवस्थापन केन्द्र (सिडिएम नेपाल)ले लुम्बिनी प्रदेशमा समुदाय उत्थानशिल परियोजना, सुपर २ र अर्वान डि आर आर गरी ३ वटा परियोजना सञ्चालन गरेको छ । सिडिएम नेपालका कार्यकारी निर्देशक धर्मराज घिमिरेका अनुसार अर्वान डि आर आर परियोजना लुम्बिनी प्रदेश सरकारसंगको समन्वयमा सञ्चालन गरिएको छ भने सुपर २ नेपालगञ्ज उपमहानगरपालिका र समुदाय उत्थानशिल परियोजना रुपन्देही जिल्लाका देवदह नगरपालिका सहित मर्चवारी, सम्मरीमायी, सुद्धोदन र सियारी गाउँपालिकामा सञ्चालन गरिएको छ ।