अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन)ले श्रीकृष्ण जन्माष्टमीको दिन यहि साउन ३१ गते शनिबार बुटवलमा विभिन्न कार्यक्रम गर्ने भएको छ । इस्कोन बुटवल शाखाले बिहिबार पत्रकार सम्मेलन गरी श्रीकृष्ण जन्माष्टमीको दिन बिहानैदेखि मध्येरात १२ बजेसम्मको कार्यक्रम तालिका सार्वजनिक गरेको हो ।
इस्कोन बुटवल शाखाको कार्यालय मिलनचोकमा बिहान साढे ४ बजे राती १२ बजेसम्मको कार्यक्रम तालिका रहेको छ । जसअनुसार क्रमशः मंगल आरती, मन्त्र ध्यान, दर्शन आरती तथा गुरु पुजा, श्रीमद्भागवत कथा वाचन, हरि कीर्तन, सांस्कृतिक कार्यक्रम, अभिषेक, नाटक प्रस्तुती, श्रीकृष्णकथामृत प्रवचन लगायतका कार्यक्रम गरिने शाखाका अध्यक्ष करणधर दासले जानकारी गराउनु भयो ।
उहाँका अनुसार नेपालमा ४० वर्षदेखि आध्यात्मिक ज्ञान वितरमा रहेको अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघका ६१ वटा शाखा रहेको छ । जसले त्यसबाहेकका विभिन्न सामाजिक सेवाका समेत काम गरिरहेको उहाँले बताउनु भयो । मानव समाजमा व्यवस्थित रुपमा आध्यात्मिक ज्ञान वितरण गर्न र आध्यात्मिक जीवनशैलीबारे जानकारी गराउने, पूर्वीय दर्शनका प्रमुख शास्त्रहरु श्रीमद् भगवत गीता तथा श्रीमद्भागवतमा वर्णित कृणभावनाको प्रचार प्रसार लगायतका उदेश्य सहित काम गरिरहेको केसी दमन दासले बताउनु भयो ।