मदानेका अध्यक्ष कुवँरद्वारा श्रीमती गुमाएका जालपेलाई काजक्रियाका लागि आर्थिक सहयोग

1.3K

मदानेका अध्यक्ष कुवँरद्वारा श्रीमती गुमाएका जालपेलाई काजक्रियाका लागि आर्थिक सहयोग

गुल्मीको मदाने गाउँपालिका वडा नं. २ बाँझकटेरीका ५० वर्षीय जालपे विकलाई श्रीमतीका काजकिरियाका लागि गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुवँरले राहत स्वरुप आर्थिक सहयोग गर्नुभएको छ । अध्यक्ष कुवँरले पालिकाबाट आफूले प्राप्त गर्ने सुविधा वापतको रकमबाट १० हजार रुपैंया काजकिरियाका लागि आर्थिक सहयोग गर्नुभएको हो ।
जीवनयापनका लागि आर्थिक अभावका कारण ११ वर्ष अघि श्रीमती र तीन छोराछोरी सहित भारतको पञ्जाव गएका जालपे विकले हरियाणामा मजदुरी गरी जिविको पार्जन गरिरहनु भएको थियो । जीवनयापनका लागि कठिन संघर्ष गर्दै आइरहेका जालपेलाई ठूलो दुर्घटना आइलाग्यो । एकदिन राती ४७ वर्षीय जालपेकी श्रीमती गीतालाई सर्पले डस्यो । समयमै उपचार गर्न नसक्दा गीताको ज्यान गयो ।
आर्थिक अभावका कारण श्रीमती गुमाएका जालपे विक तीन सन्तान र भतिजा बोमबहादुर विकसहित जन्मभूमि मदाने फर्किएर । र हिन्दू परम्परा अनुसार अन्त्येष्टि र काजकिरियाको काम गरिरहेका छन् । आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले अन्त्येष्टि र काजकिरिया गर्नसमेत कठिनाई थियो ।
जालपे विकको आर्थिक अवस्था नाजुक रहेको र काजक्रिया गर्ने ठाउँसमेत प्रयाप्त नभएको जानकारी पाएपछि केही भएपनि रातह होस भनेर पार्टीका साथीहरुको सल्लाहमा आर्थिक सहयोग गरिएको अध्यक्ष कुवँरले बताउनु भयो । नेपाली काँग्रेस गाउँपालिका समिति, जिल्ला तथा गाउँका पदाधिकारीहरूको उपस्थितिमा अध्यक्ष कुँवरले घरमै पुगेर उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।
प्राप्त सहयोगले जालपेको कठिन समयमा केही राहत मिलेको बताउनु भयो । पालिका अध्यक्ष कुवँरले आर्थिक अभावमा रहेका परिवारका सदस्यहरुलाई उपचार, शिक्षा तथा राहतमा सहयोग गर्दै आएको र आगामी दिनमा थप सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेस मदाने गाउँपालिकाका अध्यक्ष समेत रहनुभएका कुवँरले सुरुदेखिनै आफूले पालिकाबाट पाउने सुविधावापतको रकम सिधै पार्टीको खातामा जाने व्यवस्था मिलाउनु भएको छ । त्यसरी पार्टीको खातामा आएको रकम गरिव विपन्न परिवारका सदस्यहरुलाई विपद् आईपर्दा पार्टीको निर्णयमा सहयोग प्रदान गर्दै आएको उहाँले बताउनु भयो । यसले प्रवासी मजदुरीमा गएका नेपालीहरूको दुःख र जोखिमलाई उजागर गर्नुका साथै, स्थानीय तहबाट पनि कठिन अवस्थामा राहत दिन सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको छ ।