अघिल्लो दिनको तुलनामा आज मनसुन केही सक्रिय रहने देखिएकाे छ । जसका कारण धेरैजसो ठाउँमा मध्यम वर्षाको सम्भावना रहेकाे जल तथा माैषम विज्ञान विभाग, माैषम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
केही दिनयता चर्को घाम लागेको थियाे । आज भने देशभर साधारणतया बदली हुने हुँदा केही शीतल महसुस हुनेछ । महाशाखाका अनुसार भोलि र पर्सि गण्डकीदेखि पश्चिमका भूभागमा अलि बढी पानी पर्ने सम्भावना रहेको छ ।
कुनै–कुनै ठाउँमा भारी वर्षा पनि हुनसक्ने महाशाखाले जनाएकाे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी प्रदेश लगायतका पहाडी भूभागका केही स्थानहरू र बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा भने भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान छ ।
त्यस्तै राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक/दुई स्थानमा भने भारी वर्षा पनि हुन सक्ने छ ।