गुल्मीको मदाने गाउँपालिका वडा नं. ५ मलागिरी खोप्चाकी स्वर्गीय सेती कामीको अन्त्यष्ठीका लागि गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुवँरले आर्थिक सहयोग प्रदान गर्नुभएको छ । आफूले गाउँपालिकाबाट प्राप्त गर्ने सुविधावापतको रकमबाट अध्यक्ष कुवँरले ७ हजार रुपैंया सहयोग प्रदान गर्नुभएको हो ।
मदाने गाउँपालिका वडा नं. ५ मलागिरी खोप्चाकी एकल महिला ९० वर्षीया सेतीको निधन भएको थियो । विपन्न तथा दलित समुदायकी सेतीको काजकिरियाका लागि थोरै भएपनि सहायता होस भनेर सहयोग प्रदान गरिएको अध्यक्ष कुवँरले बताउनु भयो ।

नेपाली काँग्रेस मदानेका सभापति समेत रहनु भएका कुवँरले आफू पालिकाको अध्यक्षमा निर्वाचित भएलगत्तै पालिकाबाट प्राप्त हुने सुविधा वापतको रकम सिधै पार्टीको खातामा जाने व्यवस्था मिलाएको र त्यसरी पार्टीको खातामा आएको पैसा पार्टीको कार्यसमितिको निर्णयमा गरिव तथा विपन्न समुदायका व्यक्तिको उपचार, शिक्षा तथा सामाजिक सेवाका काममा सहयोग गर्दै आएको उहाँले बताउनु भयो ।