आज आईतबार राती खग्रास चन्द्रग्रहण लाग्नेछ । वैदिक धर्मशास्त्रका अनुसार याे खग्रास चन्द्रग्रहण राती १० बजेर ११ मिनेटमा शुरु भई १ बजेर ४१ मिनेटमा सकिने छ । ग्रहणको मध्य समय राति ११ बजेर ५६ मिनेटमा रहेको छ । यस ग्रहणको कूल समय ३ घण्टा ३० मिनेटको छ ।
वैदिक धर्मशास्त्र अनुसार ग्रहण सुरु हुनुभन्दा केहि समय अगाडि देखि नै ग्रहणको सुतक लाग्ने भएकाले यो समयमा केहि कार्यहरु बर्जित गरिएको छ । राती १० बजेर ११ मिनेटमा ग्रहणको सुरुवात हुने भएपनि यसको सुतक भने दिउँसो १ बजेर ११ मिनेटदेखि लाग्नेछ । सुतक लागेकाे समयदेखि ग्रहणको समय नसकिएसम्म बाल, वृद्ध, रोगी, अशक्तले बाहेक अन्यले भोजन गर्न वर्जित छ । त्यस्तै ग्रहणको समयमा सुत्न, शौच गर्न, मैथुन गर्न, बध गर्न, बन्धन गर्न निषेध गरिएको छ ।
पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा जब पृथ्वी- सूर्य र चन्द्रमाको बीचमा आइपुग्छ, तब सूर्यको प्रकाशलाई पृथ्वीले छेकिदिन्छ । यस्तो अवस्थामा चन्द्रमामा पृथ्वीको छायाँ देखिन्छ । छायाँको यस्तो अवस्था नै चन्द्रग्रहण हो । चन्द्रमाको पूरै भाग छायाँले छोपेको अवस्थालाई खग्रास चन्द्रग्रहण र आधा वा केही भाग मात्र ढाकेको अवस्थालाई खण्डग्रास चन्द्रग्रहण भनिन्छ । वर्षमा दुईवटा यस्ता अवसर आउँछन् जतिबेला चन्द्र कक्षका दुई आमने सामनेका छेउहरू पृथ्वीको कक्षसँग मेल खान्छन् । अर्थात् सूर्य र पृथ्वी सँग एकै सरल रेखामा पर्छन् । यी मेल खाएका स्थानहरू सूर्य र पृथ्वीबीचमा पर्न आउँछन् । त्यसबेला ग्रहण हुन्छ। ज्योतिष शास्त्रका अनुसार जुन पूर्णिमा तिथीका दिन राहु अथवा केतुमा एक ग्रह चन्द्रमाको साथमा एकै राशिमा पर्न आउँछन्, त्यस दिन चन्द्र ग्रहण हुन्छ ।
चन्द्रग्रहणको फल कुन राशिलाई कस्तो रहन्छ ?
• मेष राशि – लाभ
• वृष राशि – सुख
• मिथुन राशि – माननाश
• कर्कट राशि – कष्ट
• सिंह राशि – जीवनसाथीलाई कष्ट
• कन्या राशि – सुख र लाभ
• तुला राशि – चिन्ता
• वृश्चिक राशि – दुख र शारीरिक पीडा
• धनु राशि – धनको प्राप्ति
• मकर राशि – हानी
• कुम्भ राशि – घात
• मीन राशि – खर्च बढ्ने
यसरी हेर्दा यो ग्रहणबाट मेष, वृष, कन्या, धनु राशिलाई शुभ फल मिल्ने छ भने अरुलाई अशुभ फल मिल्न सक्छ ।