प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनु भएकाे छ । उहाँले मुलुकमा उत्पन्न असामान्य राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपति समक्ष राजिनामा बुझाउनु भएकाे हाे ।
राष्ट्रपति कार्यालयमा बुझाइएको राजीनामा पत्रमा ओलीले नेपालको संविधानको धारा ७७(१) बमोजिम प्रधानमन्त्री पद परित्याग गरेको उल्लेख छ । उहाँले संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएको स्मरण गर्दै देशमा जारी राजनीतिक अन्योल, दलीय असहमति र समाधानको पहलका लागि आफ्नो निर्णय आवश्यक भएको बताउनु भएकाे छ ।
“देश र जनताको सर्वोत्तम हितमा भविष्यमा पनि आफूबाट सक्दो योगदान जारी रहने प्रतिबद्धता व्यक्त गर्दै, यो निर्णय गर्नुपरेको हो,” राजीनामा पत्रमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्रीको राजीनामापछि अब नयाँ सरकार गठनमा अन्याैलता देखिएकाे छ ।
राष्ट्रपति कार्यालयले संविधानको धारा ७६(३) वा त्यसपछि आउने अन्य विकल्पअनुसार नयाँ सरकार गठनका लागि आवश्यक प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ ।
