जेन-जी आन्दोलन आज बुटवलमा अति उग्र रूप लिँदै हिंसात्मक मोडमा पुगेको छ । आन्दोलनकारीहरूले बिहानैदेखि बुटवल र वरपरका विभिन्न सरकारी, राजनीतिक तथा निजी संस्थानहरूमा आगजनी र तोडफोड गरेका छन् । जसका कारण जनजीवन पूर्णरूपमा अस्तव्यस्त बनेको छ ।
बिहानैदेखि प्रदशन गरेका युवाहरुले बुटवल उपमहानगरपालिकाको कार्यालयमा आगजनी गरेका छन् । आन्दोलनकारीहरूले आन्तरिक राजस्व कार्यालय, ईलाका प्रशासन कार्यालय, र देवदह नगरपालिका कार्यालयमा समेत आगजनी गरेका छन् ।
यस्तै, निजी क्षेत्रसमेत आन्दोलनकारीको निसानामा पर्याे । बुटवलको होटल ड्रिम, भाटभटेनी सुपरमार्केट, साथै नेपाली कांग्रेसको पार्टी कार्यालय र नेकपा एमालेको पार्टी कार्यालयमा पनि आगजनी भएकाे छ ।
जनजीवन त्रासमा, व्यापार र यातायात पूर्णरूपमा ठप्प छ । बुटवलका प्रमुख चोकचोकमा टायर बालिएकाे छ । आन्दोलनकारीहरूको आक्रोशका कारण बिहानैदेखि सार्वजनिक तथा निजी यातायात पूर्ण रूपमा बन्द रहेको छ । साथै, बजार क्षेत्रका साना–ठूला व्यवसाय, पसलहरू, र अन्य सेवाहरू पनि सञ्चालनमा आउन सकेका छैनन् ।
लगातारको आगजनी र प्रदर्शनका कारण बुटवलका आवासीय क्षेत्रहरूमा त्रासको वातावरण छ ।
सुरक्षा निकायहरू घटनास्थलमा तैनाथ गरिएका छन्, तर प्रदर्शनको मात्रा र आक्रोश उच्च भएका कारण अवस्था नियन्त्रणमा लिन प्रशासनलाई मुस्किल परिरहेको देखिन्छ । प्रशासनले प्रदर्शन रोक्नका लागि अनुरोध गर्दै निगरानी र थप सुरक्षा संयन्त्रको तयारी गरेको जनाएको छ । स्थिति अझै नियन्त्रण बाहिर छ, र प्रदर्शन जारी छ ।
