प्रतिक्रान्तिविरुद्ध नागरिक शक्ति एकजुट : जेनजी आन्दोलनको म्यान्डेटको रक्षा गर्न सडकमा उत्रिने तयारी

1.3K

प्रतिक्रान्तिविरुद्ध नागरिक शक्ति एकजुट : जेनजी आन्दोलनको म्यान्डेटको रक्षा गर्न सडकमा उत्रिने तयारी

हालै देशमा देखिएको सैनिक सक्रियता र सम्भावित राजनीतिक गठजोडको प्रयासलाई “प्रतिक्रान्ति” भन्दै, विभिन्न नागरिक समूह, राजनीतिक अभियन्ता तथा जेनजी आन्दोलनका समर्थकहरू फेरि एकजुट हुन थालेका छन् ।
एक विज्ञप्ति जारी गर्दै उनीहरूले स्पष्ट रूपमा चेतावनी दिएका छन् कि जेनजी आन्दोलनका शहीदहरूको बलिदानमाथि टेकेर पुनः राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता खारेज गर्ने षड्यन्त्रलाई कुनै हालतमा स्वीकार गर्न सकिन्न ।
उक्त विज्ञप्तिमा भनिएको छ, “यो आन्दोलन न सैनिक हस्तक्षेपको लागि थियो, न संविधान बाहिरको शक्ति सन्तुलनको लागि । यो गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र नागरिक सर्वोच्चताको पक्षमा थियो ।”
विज्ञप्तिमा नेपाली सेनाको हाल देखिएको सक्रियताप्रति गहिरो आपत्ति जनाइएको छ । कथित रूपमा सेनाको आतिथ्यमा केही समूहहरूसँग भइरहेको संवाद “असह्य र खेदजनक” भन्दै तत्काल रोक्न माग गरिएको छ ।
त्यस्तै, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति पनि सोधिएको छ –“यदि उनी यिनै प्रतिक्रान्तिकारी तत्वहरूसँग सहकार्य गरिरहेका छन् भने, उनलाई पनि प्रतिक्रान्तिका नायककै रूपमा चिनिनेछ। उनी आफू कुन पक्षमा छन्, अब स्पष्ट गर्नुपर्छ ।”
प्रतिक्रान्तिलाई परास्त गर्ने आधारको रूपमा २०७२ सालको संविधानलाई बलियो किल्ला बताउँदै, आगामी सबै संवादहरू राष्ट्रपतिको अभिभावकत्वमा मात्र हुनुपर्ने प्रस्ताव गरिएको छ । सेनाले संवैधानिक मर्यादाभित्र रहेर भूमिका निर्वाह गर्नुपर्ने पनि कडा रुपमा उल्लेख गरिएको छ ।
‘सडकमा फर्किने तयारीमा जेनजीहरू’
विज्ञप्तिमा भनिएको छ कि यदि परिस्थिति सुधारिएन भने, जेनजी आन्दोलनमा संलग्न युवा फेरि सडकमा फर्कन बाध्य हुनेछन् । नागरिक समाज, पेशागत संगठन र राजनीतिक सचेत वर्गहरूलाई पनि उनीहरूलाई साथ दिन आग्रह गरिएको छ । “अब बन्ने नागरिक सरकारमा प्रतिक्रान्तिकारीहरूलाई कुनै स्थान हुनु हुँदैन,” विज्ञप्तिमा भनिएको छ ।
जेनजी आन्दोलनको म्यान्डेट र लोकतान्त्रिक मूल्यहरू जोगाउन फेरि सडक आन्दोलनको तयारी सुरु भएको छ । सार्वजनिक अपीलमा देखिएको कठोर भाषा र गम्भीर सन्देशले मुलुकको हालको संवैधानिक संकटलाई नयाँ मोडमा पुर्‍याउने देखिएको छ ।