भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै भदौ २३ र २४ गते जेन-जी समूहले सञ्चालन गरेको शान्तिपूर्ण आन्दोलनमा ज्यान गुमाएकाप्रति नेपाली कांग्रेस क्षेत्र नं. २, रूपन्देहीले श्रद्धाञ्जली अर्पण गरेको छ । साथसाथै घाइते युवाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत व्यक्त गरिएको छ।
क्षेत्रीय कार्यसमितिका सभापति प्रजापाल गिरीद्वारा जारी अपिलमा भनिएको छ, “लोकतान्त्रिक अधिकार प्रयोग गर्दै शान्तिपूर्ण आन्दोलनमा सहभागी भएका जेन-जी सदस्यहरूमाथि सरकारले दमन र बल प्रयोग गर्नु निन्दनीय छ ।” कांग्रेसले आन्दोलनको भावना र उद्देश्यप्रति समर्थन जनाउँदै, आन्दोलनलाई भंग गर्न र बदनाम गराउन गरिएको हिंसा, आगजनी र अराजकताविरुद्ध कडा आपत्ति जनाएको छ ।
सार्वजनिक तथा निजी सम्पत्ति, सरकारी कार्यालय, न्यायालय, बैंक, स्थानीय तहका कार्यालय, ऐतिहासिक शालिक र पार्टी कार्यालयहरूमा भएको आगजनी, तोडफोड, लुटपाट र हमला योजनाबद्ध रूपमा गरिएको भन्दै कांग्रेसले घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीहरूलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेको छ ।
कांग्रेसले जनताका भावना बोकेको जेन-जी पुस्ताको आन्दोलनलाई दुरुपयोग गर्दै घुसपैठ समूहहरूबाट गराइएको अराजक गतिविधि लोकतान्त्रिक मुल्य र मान्यता माथिको खुला प्रहार भएको ठहर गरेको छ । “जेन-जी पुस्ता प्रविधिमा सक्षम, लोकतन्त्रप्रति प्रतिबद्ध र रचनात्मक चेत बोकेको पुस्ता हो,” अपिलमा उल्लेख छ ।
कांग्रेस कार्यालयसमेत तोडफोड गरी ध्वस्त पारिएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै, नेपाली कांग्रेसले यस्ता कार्यहरू अराजकताको चरम सीमामा पुगेको संकेत भएको बताएको छ ।
“लोकतन्त्रको विकल्प फेरि लोकतन्त्र नै हो, र राजनीतिक दलकै माध्यमबाट समाधान खोज्नुपर्छ,” अपिलमा भनिएको छ । पार्टी सभापति शेरबहादुर देउबा लगायत लोकतान्त्रिक विचार बोकेका नेताहरूमाथि भएको साङ्घातिक आक्रमणको पनि कडा निन्दा गरिएको छ ।
अन्त्यमा, कांग्रेसले सबै स्थानीय नेता, स्वयम्सेवी संस्था र नागरिकहरूलाई शान्ति, संयमता र संगठनमा बाँधिएर समाजमा शान्ति र स्थायित्व कायम गर्न आह्वान गरेको छ ।
