काँग्रेस रुपन्देहीले भन्याे – संवैधानिक बाटाेबाटै सरकार गठन हाेस्

1.3K

काँग्रेस रुपन्देहीले भन्याे – संवैधानिक बाटाेबाटै सरकार गठन हाेस्

नेपाली कांग्रेस रुपन्देहीले हालै देशभर चलेको आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली प्रहारबाट युवाहरुले ज्यान गुमाएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले बिहिबार प्रेस विज्ञप्ति जारी गरि आन्दोलनमा ज्यान गुमाउनेप्रती श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएकाे छ । साथै, प्रदर्शनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै राज्यलाई आवश्यक उपचारको पहल गर्न पनि आग्रह गरिएको छ ।
सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध उठेको नयाँ पुस्ताको आवाजलाई दमन गर्ने राज्यपक्षको व्यवहारप्रति कांग्रेसले चिन्ता व्यक्त गरेको छ । पार्टीले युवा पुस्ताको लोकतान्त्रिक आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै गोली प्रहारजस्ता घटनाले जनतामा आक्रोश थपिएको बताएको छ ।
प्रदर्शनको दोस्रो दिन काठमाडौँसहित विभिन्न जिल्लामा भएको तोडफोड, आगजनीजस्ता घटनाबारे कांग्रेसले चिन्ता प्रकट गर्दै त्यसमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी कानुनी कारबाही गर्न माग गरेको छ । यस्ता घटनाले मुलुकलाई दिशाहीन बनाउने खतरा रहेको भन्दै पार्टीले सबै पक्षलाई संयमित र जिम्मेवार हुन आह्वान गरेको छ ।
प्रेस विज्ञप्तिमा वर्तमान संवैधानिक व्यवस्था अनुरूप राष्ट्रपतिको अगुवाइमा जेन-जी पुस्ता तथा संविधान समर्थक शक्तिहरूको सहभागितामार्फत मुलुकलाई अहिलेको अन्योल अवस्थाबाट निकास दिनुपर्ने कुरामा जोड दिइएको छ । “हजारौं शहीदको बलिदानबाट प्राप्त नागरिक अधिकारको रक्षा गर्दै वर्तमान पुस्ताले उठाएका जायज मागलाई सम्बोधन गर्न जरुरी छ,” प्रेस विज्ञप्तिमा भनिएको छ ।
नेपाली कांग्रेसले मुलुकलाई लोकतान्त्रिक र संवैधानिक बाटोबाट नयाँ दिशातर्फ अग्रसर गराउने प्रतिबद्धता दोहोर्‍याउँदै सबैलाई सचेत, संयमित र रचनात्मक भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।