स्वगीय विश्वकर्माको परिवारलाई गाउँपालिका अध्यक्षद्वारा आर्थिक सहायता

1.3K

स्वगीय विश्वकर्माको परिवारलाई गाउँपालिका अध्यक्षद्वारा आर्थिक सहायता

गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरले स्वर्गीय प्रेम विश्वकर्माको परिवारलाई आर्थिक सहायता प्रदान गर्नुभएको छ । लामो समयदेखि बिरामी रहेका मदाने गाउँपालिका वडा नं. ३ सिर्सेनीका ५४ वर्षीय विश्वकर्माको निधन भएपछि आर्थिक रुपमा विपन्न विश्वकर्मा परिवारलाई अध्यक्ष कुँवरले राहत स्वरुप १० हजार रुपैंया आर्थिक सहायता प्रदान गर्नुभएको हो ।
सिर्सेनी धारापानीका ५४ वर्षीय विश्वकर्माको गएको भदौ १ गते निधन भएको थियो । उहाँका श्रीमती गोरी विश्वकर्मा र तीन छोरा रहेका छन् । अत्यन्तै कमजोर आर्थिक अवस्था भएको उक्त परिवारमा साँझ विहानको छाक टार्न समेत अभाव देखिएको थियो । सो कठिन परिस्थिति थाहा पाएपछि वडा नं–३ का वडा अध्यक्ष चेतबहादुर सेनले तत्काल १ कट्टा चामल, १ किलो घ्यू र १ किलो फलफूल लिएर परिवारलाई सहयोग गर्नुभएको थियो ।
यस्तै, परिवारको दयनीय अवस्थालाई मनन गर्दै मदाने गाउँपालिका अध्यक्ष कुँवरले आफ्नो मासिक आर्थिक सुविधा रकमबाट उक्त रकम सहयोग गर्नुभएको हो । उहाँले विश्वकर्मा परिवारको घरमै पुगेर उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष कुँवरले दुःखको घडीमा गाउँपालिकाले सधैं विपन्न परिवारलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपाली काँग्रेस मदाने गाउँपालिकाका सभापति समेत रहनुभएका कुवँर पालिकाको अध्यक्षमा निर्वाचित भएपछि आफूले पालिकाबाट पाउने सेविधावापतको रकम पार्टीको खातामा जाने व्यवस्था मिलाउनु भएको छ । त्यसरी पार्टीको खातामा आएको उक्त रकम पार्टी समितिको निर्णयमा गरिव तथा विपन्न परिवारका सदस्यहरुको शिक्षा, स्वास्थ्य तथा राहतमा सहयोग गर्ने गरिएको अध्यक्ष कुँवरले जानकारी गराउनु भयो ।