मन्त्रीपरिषदबाट पारित मतदाता नामावली सम्बन्धि अध्यादेश पारित भएको छ । निर्वाचन घोषणा भइसकेपछि पनि केही समय मतदाता नामावली संकलन गर्न मिल्ने कानुनी व्यवस्था गर्न आईतबार बसेको मन्त्रीपरिषद बैठकले मतदाता नामावलीसम्बन्धि अध्यादेश पारित गरी स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेर राजपत्रमा प्रकाशन भएसंगै अध्यादेश कार्यान्वयनमा आउने छ । मतदाता नामावली ऐन, २०७३ को दफा ४ लाई संशोधन गर्ने गरी निर्वाचन आयोगसँग परामर्श गरेर गृह मन्त्रालयले अध्यादेशको मस्यौदा तयार गरेको थियो ।
मतदाता नामावली ऐन अनुसार निर्वाचनको मिति घोषणा भइसकेपछि उक्त निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न मिल्दैन । प्रधानमन्त्री नियुक्त भएकै दिन भदौ २७ गते प्रधानमन्त्री सुशिला कार्कीले गरेको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्दै २१ फागुनमा निर्वाचनको मिति घोषणा गर्नुभएको थियो ।
निर्वाचन घोषणापछि आन्दोलनबाट परिवर्तन ल्याएका युवा (जेन–जी) मताधिकारबाट वञ्चित हुने देखिएपछि अध्यादेश ल्याउन लागिएको हो । मतदाता नामावली संकलनपछि निर्वाचनको कार्यतालिका बनाएर निर्वाचनको गतिविधि पनि अघि सार्ने आयोगको तयारी छ । निर्वाचन अवधि १२० दिन राख्ने आयोगको अभ्यास छ । यस पटक पनि त्यहीअनुसार मतदाता नामावली संकलन सकेर अघि बढ्ने आयोगले जनाएको छ ।