‘आँखा समस्या दिनहुँ बढिरहेको छ, यसको हेरचाह कसरी गर्ने ?’ विश्व दृष्टि दिवस २०२५ का अवसरमा नेपाल सरकारले आँखा स्वास्थ्यका लागि सर्वसाधारणमा सचेतना फैलाउन विभिन्न सन्देशहरू सार्वजनिक गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएका अनुसार, आँखा हाम्रो शरीरको अत्यन्त संवेदनशील अंग भएकाले यसको नियमित हेरचाह गर्नुपर्छ ।
स्वस्थ आँखा राख्नका लागि अपनाउनुपर्ने मुख्य उपायहरूमा निम्न कुरा समावेश छन् —
• दैनिक रूपमा सफा पानीले आँखा धुने,
• विटामिनयुक्त खाना खाने,
• चिकित्सकको सल्लाहबिना आँखा औषधि प्रयोग नगर्ने,
• आँखामा चोटपटक लागेमा तुरुन्त चिकित्सककहाँ जाने,
• कुनै पनि समस्या परेमा उपचार केन्द्रमा सम्पर्क गर्ने,
• मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिले नियमित आँखा जाँच गर्ने,
• ४० वर्ष नाघेका व्यक्तिले हरेक वर्ष आँखा परीक्षण गर्ने,
• विद्यार्थीको भर्ना अघि बालबालिकाको दृष्टि परीक्षण गराउने ।
विशेषज्ञहरूका अनुसार हाल नेपालमा दृष्टि सम्बन्धी समस्या भएका बिरामीहरूको संख्या तीव्र गतिमा बढ्दै गएको छ । मोबाइल, कम्प्युटर र टेलिभिजनमा लामो समय बिताउने बानीले पनि आँखामा हानि पुर्याउने भएकाले समय–समयमा विश्राम दिनु र सही हेरचाह गर्नु अत्यावश्यक भएको उनीहरूको सुझाव छ ।
सरकारले दृष्टि सम्बन्धी स्वास्थ्य सेवा सहज र पहुँचयोग्य बनाउन विभिन्न जिल्लामा निःशुल्क आँखा जाँच तथा उपचार कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।