मदाने गाउँपालिका–५ मलागिरि डडेगाउँका ७६ वर्षीय भक्तु खत्री तीन वर्षदेखि दृष्टिविहीन छन् । दृष्टि गुमाएको पीडामाथि हालै ५८ वर्षीया जीवनसंगिनी सोफन्कला खत्रीको निधन भएपछि उनी थप शोक र समस्यामा परेका छन् ।
आर्थिक रूपमा कमजोर खत्री परिवारलाई परम्परागत संस्कारअनुसार काजकिरिया गर्नसमेत कठिन भएको अवस्था देखिएको छ । याे अवस्थामा मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरले आर्थिक सहयाेग गर्नुभएकाे छ । उहाँले आफूले पालिकाबाट पाउने सुविधा वापतकाे रकमबाट ६ हजार रुपैया सहयाेग गर्नुभएकाे हाे ।
उहाँले शोकमा रहेका खत्री परिवारलाई सान्त्वना दिँदै पालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएकाे छ ।
नेपाली काँग्रेस मदानेका सभापति समेत रहनुभएका कुवँरले पालिकाको अध्यक्षमा निर्वाचित भएपछि पालिकाबाट पाउने सुविधा वापतको रकम पार्टीको खातामा जम्मा हुने व्यवस्था मिलाउनु भएको छ । त्यसरी पार्टीको खातामा आएको रकम पार्टी समितिको निर्णयबाट गरिव तथा विपन्न समुदायका सदस्यहरुको शिक्षा, स्वास्थ्य लगायतमा सहयोग गर्दै आएको उहाँले बताउनु भयो ।