लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालमा निर्माणाधिन १० तले भवनको भौतिक प्रगति ३० प्रतिशत पुगेको छ । अस्पतालमा निर्माणाधिन भवनको प्रगतिका बारेमा जानकारी गराउन आईतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी निर्देशक छविराज पोखरेलले हालसम्म भवन निर्माणमा भौतिक प्रगति ३० प्रतिशत र वित्तिय प्रगति २६.६२ प्रतिशत रहेको जानकारी गराउनु भएको हो ।
११५ वर्षदेखि रूपन्देहीसहित कपिलबस्तु, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, दाङ, स्याङ्जालगायतका स्थानबाट आउने विरामीलाई सेवा पु¥याउँदै आएको यो अस्पतालमा बिरामीको चाप अत्यधिक भएपछि प्रदेश मातहत रहेको अस्पतालको स्तरबृद्धिका प्रदेश सरकारले प्रदेशको गौरवको आयोजनाको रुपमा भवन निर्माणको काम अगाडि बढाएको हो ।
लुम्बिनी प्रादेशिक अस्पतालको स्तरबृद्धिका लागि करिव ७ हजार ७ सय वर्ग मिटर (१ बिघा २ कठ्ठा १४ धुर) क्षेत्रफलमा २ वटा भवन निर्माण भईरहेको छ । प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा अगाडि बढाएको यो आयोजनाको मुख्य भवन १० तला र २ तहको वेसमेन्ट हुनेछ । जसमा ७ सय शैया हुनेछ । त्यस्तै ४ तलाको क्यान्सर भवन बन्नेछ । ४ तलाको क्यान्सर भवनमा १ तहको वेसमेन्ट हुनेछ । त्यस्तै १ सय वेडको क्यान्सर भवनका लागि ४ तलाकाे भवन र १ तहकाे वेसमेन्ट हुनेछ ।
मुलुककै सबभन्दा ठूलो १२ तलाको अत्याधुनिक सुविधा सहितको अस्पताल बनाउने भन्दै २०८० साल पुस २६ गते प्रदेश पूर्वाधार विकास प्राधिकरणले भवन निर्माणको लागि ठेक्का सम्झौता गरेको थियो । सम्झौता भएको आठ महिनापछि २०८१ भदौ १५ गते मात्र भवनको शिलान्यास गरी निर्माणको काम अगाडि बढाइएको थियो । हाल निर्माणस्थलमा ३ सय बढी जनशक्ति परिचालन गरिएको छ ।
सुविधा सम्पन्न दुई वटा भवन, उपकरण र आन्तरिक व्यवस्थापन सहित ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार लागत अनुमान गरिएकोमा भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चर र नेपाली कम्पनी आशिष रेलिगेसनले ६ अर्ब १८ करोड रूपैयाँमा ठेक्का सम्झौता गरेका थिए । ठेक्का सम्झौता अनुसार ५ वर्ष अर्थात् २०८५ पुस २५ गतेभित्र भवन निर्माणको काम पुरा गर्नुपर्ने सर्त छ ।
प्रादेशिक अस्पतालको भवन निर्माणका लागि सरकारले चालु आर्थिक वर्षमा छुट्टाएको बजेट पहिलो चार महिनामै सकिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ मा भवन निर्माणका लागि १ अर्ब रूपैयाँ विनियोजन गरेको थियो । उक्त रकम अघिल्लो आर्थिक वर्षमा भएको कामको भुक्तानीमै सकिएपछि चालु वर्षका लागि बजेट अभाव भएको हो ।
सरकारको गौरवको आयोजना भनिए पनि भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन नभएपछि निर्माण कम्पनीले उधारोमै काम गरिरहेको छ । पोखरेलका अनुसार सरकारले विनियोजन गरेको १ अर्ब रूपैयाँ मध्ये ८५ करोड रूपैयाँ अघिल्लो वर्षको भुक्तानीमा सकिएको छ । बाँकी १५ करोड रूपैयाँ चालु वर्षमा भएको कामको भुक्तानी गरिएको छ भने कात्तिकसम्म सम्पन्न कामको अझै २४ करोड रूपैयाँ भुक्तानी गर्न बाँकी छ ।

उहाँका अनुसार भवन निर्माणका लागि रकम अभाव भएपछि प्रदेश सरकारसँग चालु वर्षका लागि थप ८० करोड रूपैयाँ माग गरिएको छ । ‘अहिलेसम्मकै २५ करोड भुक्तानी गर्नुपर्ने छ, अहिले भइरहेको कामको प्रगतिलाई हेर्दा बाँकी आठ महिनाका लागि समेत गरी ८० करोड आवश्यक पर्छ,’ उहाँले भन्नुभयाे । निर्माण कम्पनीलाई नियमित रूपमा रकम भुक्तानी गर्न सके निर्माणको काम पनि समयमै पूरा हुने भएकाले सरकारले पनि रकम थप गर्ने आश्वासन दिएको उहाँले बताउनु भयाे । ‘निर्माण कम्पनीले जसरी काम गरिरहेको छ यही गतिमा अगाडि बढ्ने र सरकारले पनि बजेट विनियोजन गर्ने हो भने निर्धारित समयभन्दा अगाडि नै भवन निर्माणको काम सम्पन्न हुन सक्छ,’ इन्जिनियर पोखरेलले भन्नुभयाे ।
प्रदेश पूर्वाधार विकास प्राधिकरणका तर्फबाट भवन निर्माणमा खटिएका साइट इन्जिनियर शंकर सुवेदीका अनुसार निर्माण कम्पनीलाई पेश्की स्वरूप ठेक्का सम्झौताको २० प्रतिशत रकम दिने प्रावधान रहे पनि निर्माण कम्पनीले पेश्की स्वरूप १८ प्रतिशत रकम लगेको छ । यसरी लगेको पेश्की रकम ३० प्रतिशत काम पूरा नगर्दासम्म काट्न पाइँदैन ।
अहिले भइरहेको रफ्तारमा काम भइरहे आगामी असार मसान्तसम्म ५० प्रतिशत जति काम सम्पन्न गर्ने लक्ष्य लिइएको सुवेदीले बताउनु भयाे । ‘ठेक्का सम्झौता गरिएको अवधिबाट हेर्ने हो भने चालु आर्थिक वर्षभित्र ४७ प्रतिशत काम पूरा गर्नुपर्ने कार्य तालिका छ। तर, कामको प्रगतिलाई हेर्दा यस वर्ष ५० प्रतिशत काम सम्पन्न हुन्छ भन्ने अपेक्षा गरेका छौं,’ सुवेदीले भन्नुभयाे ।
भवन निर्माणमा प्रयोग भइरहेका वस्तु तथा कामको गुणस्तर अनुगमनका लागि काठमाडौं विश्वविद्यालयको १६ जनाको प्राविधिक टोलीले सुपरिवेक्षण गरिरहेको छ । भवनको डिजाइन र गुणस्तर सुपरिवेक्षणको जिम्मा ‘जी–टु–जी’ माध्यमबाट काठमाडौं विश्वविद्यालय अन्तर्गतको ‘काठमाडौं युनिकन्सर्न कन्सल्टेन्सीलाई दिइएको थियो ।