लुम्बिनी प्रदेश सभाको सातौं हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी सूचना पढेर सुनाउने कार्यक्रम रहेको छ ।
यससँगै मन्त्रिपरिषद् पुनर्गठन र छैटौं अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्रहरू सभामा प्रस्तुत गरिनेछन् । त्यसपछि दलका तर्फबाट प्रदेशसभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने क्रम सुरु हुनेछ ।
हिउँदे अधिवेशनका लागि ‘जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५’ संशोधन विधेयक र ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७६’ संशोधन विधेयक प्रदेशसभा सचिवालयमा दर्ता भएका छन् । साथै थप विधेयकहरू पेश गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । तीमध्ये लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन विधेयक, जीवनाशक विषादी व्यवस्थापन तथा नियमन विधेयक, र दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक प्रमुख छन् ।
विभिन्न समितिका प्रतिवेदनहरू तथा महालेखा परीक्षकको प्रतिवेदन पनि अधिवेशनमा छलफलका लागि प्रस्तुत हुनेछन् । लुम्बिनी प्रदेशको वर्षे अधिवेशन गत भदौ ३१ मा अन्त्य भएको थियो । कानुनअनुसार एउटा र अर्को अधिवेशनबीच ६ महिनाभन्दा बढी अन्तराल हुन नहुने प्रावधान छ ।