नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रुपन्देही जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्यहरू पार्टी एकताको पक्षमा उभिएका छन् । आइतबार रुपन्देहीको मणिग्राममा बसेको दशौँ पूर्ण बैठकले पार्टीले तय गरेको कार्यदिशा आत्मसाथ गर्दै एकताको लाइनलाई समर्थन गर्ने निर्णय गरेको संयोजक नारायण जिसी (निर्मल)ले जानकारी दिनुभयो ।
बैठकलाई सम्बोधन गर्दै केन्द्रीय नेता तथा पूर्वमन्त्री चक्रपाणी खनाल (बलदेव)ले माओवादी केन्द्र, नेकपा (समाजवादी) लगायतका कम्युनिस्ट शक्तिहरूसँग भएको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीमा निष्कपट रूपमा लाग्न नेताहरूलाई आग्रह गर्नुभएको थियो ।
उनले पार्टी एकता प्रक्रियामा जुट्ने र छुट्ने क्रम स्वाभाविक भएको बताउँदै पार्टी छाडेर जानेहरूको गन्तव्य टाढा नरहेको टिप्पणी गर्नुभयो । कार्यक्रममा नेता शुदर्शन बराल, हकिउल्ला खाँ, रामु परियार, सोनिया यादव लगायतले पनि पार्टी एकता आवश्यकता अनुसार भएको बताउनु भएको थियो ।
आगामी मंसिर १३ गते दाङको लमहीमा हुने लुम्बिनी प्रदेशस्तरीय एकता घोषणा सभालाई सफल बनाउन रुपन्देहीबाट ठूलो जनसहभागिता सुनिश्चित गर्ने निर्णय बैठकले गरेको संयोजक जिसीले बताउनु भयो ।