नेपाल सरकार मन्त्रिपरिषद्को हालै बैठकले विभिन्न मन्त्रालयका महत्वपूर्ण प्रस्तावहरू पारित गर्दै आर्थिक, प्रशासनिक तथा संस्थागत तहका निर्णयहरू गरेको छ ।
बैठकले युरोपियन युनियनबाट प्राप्त ‘ग्रिन एण्ड रिलायवल इनर्जी फर इकाेनाेमिक प्रस्परिटी इन नेपाल (ग्रिन प्लस)’ परियोजनाका लागि पाउने २.९८ अर्ब रुपैयाँ बराबरको अनुदान स्वीकृत गरेको छ ।
त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव अनुसार एलपी ग्यासको वार्षिक भाडा शुल्क प्रतिवर्ष २०१ रुपैयाँ कायम गर्ने निर्णय भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले साउथ एसिया फाेरम इन्फास्टक्चर रेगुलेसनको सदस्यता लिन पाउने निर्णय पाएको छ । मन्त्रालयको अर्को प्रस्ताव अनुसार, नेपाल–भारत जहाज–सेवा समझदारी सम्बन्धी विषयमा मन्त्रिपरिषद्ले आवश्यक सहजीकरण गर्ने पनि बैठकले निष्कर्ष निकालेको छ ।
गृहमन्त्रालयतर्फ, २०७८/११/२३ र २४ मा भएको प्रदर्शनका कारण क्षति पुगेका सवारी साधन तथा संरचनाको क्षतिपूर्ति सम्बन्धी निर्णय गर्दै, राहत तथा पुनःस्थापनाका प्रक्रिया अघि बढाउने निर्णय भएको छ । साथै, प्रहरी नायब महानिरीक्षक कुबेर कट्टेललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी काज सरुवा गर्ने निर्णय बैठकले गरेको छ ।
वन तथा वातावरण मन्त्रालयको प्रस्ताव अनुसार, वातावरणीय अध्ययन सहमति, स्वीकृति तथा राष्ट्रिय निकायको अधिकार प्रक्रियालाई स्पष्ट गर्दै विद्यमान कानुनी संरचना प्रभावकारी बनाउने निर्णय बैठकले अनुमोदन गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावअनुसार, प्रतिनिधि पठाउने सम्बन्धमा नेशनल लियसन अफिसर मिटिङ फर एसिया प्यासिफिक रिजनमा सहभागिता स्वीकृत भएको छ ।