मिले रास्वपा र विवेकशील साझा

1.3K

मिले रास्वपा र विवेकशील साझा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच औपचारिक एकता घोषणा भएको छ । काठमाडौंमा आयोजित विशेष कार्यक्रममा दुवै दलका शीर्ष नेताहरूले एकीकरणसम्बन्धी सहमतिमा हस्ताक्षर गर्दै वैकल्पिक राजनीतिलाई नयाँ ऊर्जा दिने प्रतिबद्धता जनाए ।
रास्वपातर्फबाट कार्यबाहक सभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गरेका छन् भने विवेकशील साझा पार्टीतर्फ अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारले हस्ताक्षर गरेका हुन् ।
एकीकरणका पाँच प्रमुख बुँदामा दुवै पक्षले सहमति जनाएका छन् । सहमति अनुसार, वैकल्पिक राजनीतिको प्रवर्द्धनमा स्व. उज्वल थापा र ‘विवेकशील अभियान’को योगदानलाई औपचारिक रूपमा दस्तावेजीकरण गरी मान्यता दिने निर्णय भएको छ ।
महाधिवेशनसम्मका लागि तयार गरिएको ‘विशेष संयन्त्र संघीय नेतृत्व मञ्च’ मा विवेकशील साझाबाट आएका नेताहरूलाई आपसी समझदारीका आधारमा मनोनयन गर्ने व्यवस्था गरिएको छ । मञ्चका सदस्यहरूको वरियतालाई केन्द्रीय समितिका सदस्य सरह मानिने पनि सहमतिमा उल्लेख छ ।
त्यस्तै, विवेकशील साझा पार्टीका सदस्य र सल्लाहकारहरुलाई केन्द्रीय, प्रादेशिक तथा स्थानीय तहको संरचनामा योग्यतामुखी र समावेशी सिद्धान्तअनुसार समुचित समायोजन गर्ने तय भएको छ ।
एकीकरणपछि दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ। दलको झण्डा पनि पूर्ववत् निलो पृष्ठभूमिमा सेतो गोलाकार भित्र निलो रंगको ‘घण्टी’ आकृति सहित यथावत् रहनेछ । साथै, एकीकरण सम्बन्धी कानुनी प्रक्रिया अघि बढाउन दुवै दलले निर्वाचन आयोगका लागि आवश्यक कागजात तयार गर्ने र चल–अचल सम्पत्तिको व्यवस्थापन आपसी सहमतिमा सम्पन्न गर्ने निर्णय गरेका छन् ।
रास्वपाको सिद्धान्त, नेतृत्व र ‘घण्टी’ चिन्हमा गोलबद्ध हुँदै लोकतान्त्रिक सुशासन र समुन्नतिको एजेन्डा अघि बढाउन अन्य परिवर्तनकामी वैकल्पिक शक्ति र व्यक्तिहरूलाई पनि सहभागी हुन अपिल गरिएको छ ।