पटक–पटक स्थगित हुँदै आएको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। नियमित वा विशेष महाधिवेशन गर्ने विषयमा दलभित्र भइरहेको बहस र बढ्दो विवादका कारण बैठक लगातार सर्दै आएको थियो ।
पछिल्ला अनौपचारिक छलफलहरूमा पुसको अन्तिम साता नियमित १५ औँ महाधिवेशन गर्ने कार्यतालिकामा प्रारम्भिक सहमति बनेको नेताहरूले बताएका छन् । आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस २६–२९ मा नियमित महाधिवेशन गर्ने प्रस्तावसहित कार्यतालिका प्रस्तुत गर्ने तयारी छ ।
बैठकअघि पनि कार्यवाहक सभापति खड्का सबै पक्षसँग छलफल तथा परामर्शमा हुनुहुन्छ । केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा आइतबार उहाँले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मासँग सामूहिक छलफल गर्नुभएकाे थियाे । सो वार्तामा पनि पुस अन्तिम साता महाधिवेशन गर्ने प्रस्तावमा सहमति नजिकिएको बताइएको छ ।
गत असोज २८ गतेदेखि सुरु भएको काँग्रेस केन्द्रीय कार्यसमिति बैठक निष्कर्षमा नपुगेपछि निरन्तर लम्बिँदै आएको छ । आजको बैठकले महाधिवेशनको अन्तिम मिति टुंग्याउने अपेक्षा गरिएको छ ।