बुटवलमा एकै स्थानबाट अगाडि बढाउँदै आएको मेला तथा महाेत्सव अन्तरगत यस वर्ष रुपन्देही उद्याेग संघले ‘१६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव २०८२’ काे तयारी गरेकाे छ । यहि पुसकाे ३ देखि १७ गतेसम्म बुटवल मण्डपमा हुने प्रदर्शनीकाे तयारीकाे काम तिब्र पारिएकाे छ ।
आयोजक रुपन्देही उद्याेग संघका वरिष्ठ उपाध्यक्ष तथा प्रदर्शनी मुल समितिका सह–संयोजक जिबकान्त काफ्लेका अनुसार महोत्सव केवल भीड तान्ने कार्यक्रम नभई उद्यमशीलता, कृषि आधुनिकीकरण, बजार विस्तार र आर्थिक गतिशीलता सिर्जना गर्ने एक प्रभावकारी प्लेटफर्म बनिसकेको छ ।
उहाँका अनुसार विगतका प्रदर्शनीहरूले देशभरका सयौँ उद्यमीलाई आफ्ना उत्पादन पहिलोपटक बजारमा चिनाउने अवसर दिएकोछ । धेरै उद्यमीले प्रदर्शनीमार्फत स्थायी ग्राहक र व्यवसायिक साझेदारी जोड्दै उत्पादनको बजार विस्तारमा उल्लेखनीय फाइदा पुगेकाे छ ।
कृषि प्रविधि र किसान–उद्योगको सहकार्यमा प्रभाव
महोत्सवमा प्रस्तुत हुने कृषि प्रविधिले किसानलाई उन्नत बीउबिजन, नवीन खेती पद्धति, मूल्य शृङ्खला विकास तथा उद्योग–किसान सहकार्यलाई थप मजबुत बनाएको आयोजकको दाबी छ । ग्रामीण क्षेत्रमा भएका सम्भावनालाई उद्योगसँग जोडेर आय–आर्जन बढाउन प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्दै आएको बताइएको छ ।
महोत्सवमा समेटिने सांस्कृतिक विविधता, स्थानीय परम्परा, हस्तकला, परिकार र कलाकारिताले स्थानीय पर्यटन र सांस्कृतिक पहिचानलाई देश–विदेशमा चिनाउने अवसर बनेको छ । काफ्लेका अनुसार प्रदर्शनी आइडलजस्ता कार्यक्रममार्फत थुप्रै स्थानीय कलाकार आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल भएका छन् ।
प्रदर्शनी अवधिमा स्थानीय ढुवानी सेवा, सजावट, यातायात, रेस्टुरेन्ट, होटल र खुद्रा बजारमा उल्लेखनीय आर्थिक गतिविधि बढ्ने गरेको छ । उद्योगी–व्यवसायीका अनुसार प्रदर्शनीमा हुने करोडौँको कारोबार मात्र तत्कालीन फाइदा हो; दीर्घकालमा बन्ने व्यवसायिक साझेदारीले अझ ठूलो प्रभाव पारिरहेको छ ।
यस वर्ष पनि युवालाई विशेष प्राथमिकतामा राखिएको छ । धेरै युवाले आफ्ना नवप्रवर्तन, डिजिटल सेवा र नयाँ उत्पादन यिनै प्रदर्शनीमार्फत सार्वजनिक गर्दै आएका छन् । काफ्लेका अनुसार प्रदर्शनीले युवामा आत्मविश्वास जगाउने मात्र होइन, लगानीकर्ता भेट्ने र व्यवसाय विस्तार गर्ने अवसर पनि प्रदान गर्छ ।
विभिन्न संघ–संस्था, चेम्बर, निजी क्षेत्र र अध्ययन समूहको सहभागिताले नेपालमा उपलब्ध अवसरलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत हुने वातावरण तयार भएको आयोजकको भनाइ छ ।
अघिल्ला अनुभव र सफलताका आधारमा १६औँ संस्करणलाई अझ व्यवस्थित, समृद्ध र प्रभावकारी बनाउन तयारी तीव्र गरिएको काफ्लेले बताउनु भयाे । उहाँले भन्नुभयाे-“हामी गर्छौँ, हामी गर्दै आएका छौँ, र हाम्रा प्रदर्शनीहरूको योगदान प्रमाणिक छ । यस वर्ष पनि प्रत्यक्ष लाभ दिनेमा हामी विश्वस्त छौँ ।”