क्रियाशील सदस्यता वितरणमा काँग्रेसले ल्यायो लचिलो नीति

1.3K

क्रियाशील सदस्यता वितरणमा काँग्रेसले ल्यायो लचिलो नीति

नेपाली काँग्रेसले आगामी महाधिवेशन लक्षित गर्दै क्रियाशील सदस्यता वितरण प्रक्रिया झनै सहज र सबैसमावेशी बनाउने निर्णय गरेको छ । अबदेखि योग्य व्यक्तिलाई सदस्यता नदिने, रोक्ने वा प्रतिशत सीमामा बाँध्ने प्रक्रियालाई अन्त्य गरिनेछ ।
केन्द्रीय कार्यसमिति बैठकले ‘कुनै पनि योग्य व्यक्तिलाई सदस्यताबाट वञ्चित नगर्ने’ नीति पारित गर्दै वडादेखि केन्द्रसम्म सबै तहमा सदस्यता वितरण खुला र पारदर्शी बनाइने बताएको छ । १४ औं महाधिवेशनमा शतप्रतिशत वृद्धि गरि ८ लाख ७० हजार पुगेको क्रियाशील सदस्य संख्या यसपटक भने प्रतिशत नतोकी आवश्यकताअनुसार बढाइनेछ ।

सदस्यता वितरणमा युवालाई प्राथमिकता

१८–३० वर्षका युवालाई व्यापक प्रतिनिधित्व दिने, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम लगायत समावेशी प्रतिनिधित्वका आधारहरूलाई विशेष ध्यान दिने कांग्रेसको निर्णय छ । साथै राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय, चुनावी अभियानमा सहभागी र अन्य दलबाट कांग्रेसमा प्रवेश गरेका व्यक्तिलाई पनि सहजै सदस्यता उपलब्ध गराइनेछ ।

कार्यताालिका सार्वजनिक

– २० मंसिरभित्र केन्द्रबाट नयाँ फारम वितरण
– २४ मंसिरभित्र प्रतिनिधिसभा क्षेत्र हुँदै वडासम्म फारम पठाइने
– ८ पुसभित्र नयाँ सदस्यता वितरणको काम सम्पन्न
– १०–११ पुसभित्र सूची प्रकाशन र केन्द्रमा पठाइने
– १४ पुसभित्र छानबिन, पुनरावेदन र अन्तिम सूची तयार

सदस्यता नवीकरणमा कडाई

क्रियाशील सदस्यले हरेक वर्ष वडा कार्यसमितिमा आवेदन दिएर नवीकरण गर्नुपर्नेछ । विभिन्न तहका समितिले आवेदकको योग्यता, चुनावमा भूमिका र संगठनात्मक सक्रियता समेत आधार मानेर निर्णय गर्ने व्यवस्था यथावत रहनेछ ।
लामो समयदेखि विवादास्पद मान्दै आएको सदस्यता नियन्त्रणको प्रथालाई अन्त्य गर्दै कांग्रेसले यो कदम संगठन सुदृढीकरणतर्फ निर्णायक हुने बताएको छ ।