बुटवलकाे सिद्धार्थ गौतम बुद्ध क्याम्पसको नवाैं क्याम्पस सभा सम्पन्न भएको छ । क्याम्पस सभामा बाेल्दै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष निर्मलप्रसाद लाकौलले क्याम्पसले समुदायमुखी शिक्षामा प्रभावकारी योगदान दिंदै आएको र आगामी वर्षहरूमा भौतिक तथा शैक्षिक पूर्वाधार सुदृढीकरणलाई मुख्य प्राथमिकतामा राखिएकाे बताउनु भयाे ।
२०४८ सालमा त्रिभुवन विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र तहको सम्बन्धन प्राप्त गरी कान्ति माध्यमिक विद्यालयमा शैक्षिक कार्यक्रम सुरु गरेको क्याम्पसले हाल बुटवल ५ स्थिथ हाटबजार समिपमा आफ्नै भवनमा स्नातक तथा स्नातकोत्तर तहमा व्यवस्थापन र शिक्षाशास्त्र संकायका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
क्याम्पस प्रमुख गोपालप्रसाद चापागाईंको सञ्चालनमा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को लेखा–परीक्षण प्रतिवेदन, व्यवस्थापन समिति अध्यक्षको प्रतिवेदन, सोही वर्षको वार्षिक प्रतिवेदन, आ.व. २०८२/८३ को अनुमानित वार्षिक बजेट तथा सो वर्षका लागि लेखा परीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।
सभामा उप–प्रशासक रामनाथ माली, पब्लिक क्याम्पस कर्मचारी संघका इकाइ सभापति ओमभद्र गौतम, प्राध्यापक संघका कार्यवाहक सभापति रामनाथ उपाध्याय, कान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद ज्ञवाली, बुटवल बहुमुखी क्याम्पसका प्रमुख डा. अरुणकुमार क्षेत्री, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्याल, पूर्व क्याम्पस प्रमुख बाबुराम पाण्डे, कृष्णलाल जोशी लगायतले आफ्नो भनाइ राख्नुभएकाे थियाे ।