एमाले फेरि विधान संशोधनको तयारीमा : महाधिवेशन प्रतिनीधि २४ सय

1.3K

एमाले फेरि विधान संशोधनको तयारीमा : महाधिवेशन प्रतिनीधि २४ सय

नेकपा एमालेले भदौमा पारित गरेको विधानलाई फेरि संशोधन गर्ने तयारी थालेको छ । पार्टीको सांगठनिक संरचना विस्तार, पदाधिकारी संख्या वृद्धि र ४० वर्षमुनिका युवालाई उच्च नेतृत्वमा समेट्ने उद्देश्यसहित विधान फेरि परिमार्जन गर्न लागिएको हो ।
यहि मंसिरको २७ गतेदेखि सुरु हुने एमालेको ११ औँ महाधिवेशनमा २ हजार ४ सय प्रतिनिधि सहभागी हुँदैछन् । भक्तपुरको सल्लाघारीमा उद्घाटन कार्यक्रम हुँदैछ भने बन्दसत्र र नेतृत्व चयन काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।
गत भदौको विधान महाधिवेशनले पदाधिकारीको संख्या १९ बाट घटाएर १५ मा झारेको थियो । तर अहिले नेतृत्व आकांक्षीको संख्या अत्यधिक भएपछि फेरि १९ पदाधिकारी कायम गर्ने प्रस्ताव आएको छ ।
अध्यक्षमा केपी शर्मा ओली नै निरन्तरता दिने तयारीमा हुनुहुन्छ । तर नेतृत्व परिवर्तनको एजेण्डा सहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेद्वारी दिने घोषणा सहित प्रतिनीधिहरुलाई आफ्नो पक्षमा ल्याउने गृहकार्यमा हुनुहुन्छ । महासचिवमा शंकर पोखरेल मुख्य आकांक्षी भए पनि पृथ्बीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली पनि दाबेदार भएकोले प्रतिस्पर्धा चर्किएको छ ।
उपमहासचिव विष्णु पौडेलको नेतृत्वमा बनेको कार्यसमितिले संरचना चुस्त बनाउने नाममा संख्यामा कटौति गरेको थियो । तर अहिले नेतृत्व आकांक्षा, युवा समावेशीकरण, आन्तरिक समायोजन लगायतका कारण नयाँ वातावरणअनुसार विधान फेरि परिमार्जन गर्न लागिएको हो ।
७७ जिल्ला र ७ विशेष जिल्ला गरी एमालेमा ८१ जिल्लाको अवधारणा अनुसार ८१ जिल्ला कमिटी, १६५ निर्वाचन क्षेत्र लगायत तथा मनोनित समेत गरी २ हजार ४ सय प्रतिनीधि चयन गरिसकिएको छ । त्यस्तै १० हजार स्वयंसेवक परिचालन गरिने एमालेले जनाएको छ । महाधिवेशन उद्घाटन समारोहमा २ लाख सहभागिता गराउने गरी तयारी भएको पनि सो पार्टीले जनाएको छ ।
महाधिवेशन अन्तरगत २७ गते उद्घाटन, २८ गते राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुती तथा पारित, समिति गठन र २९ गते नयाँ नेतृत्व चयन गरिने छ ।