नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा लिग चरणका खेलहरू सकिएका छन् । आइतबार भएको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएसँगै अंक तालिकाले पूर्णता पाएको छ । यसअघि नै प्लेअफ खेल्ने चार टोलीको टुंगो भइसकेको थियो । साविक विजेता जनकपुर बोल्ट्स यसपटक सबैभन्दा खराब प्रदर्शन गर्दै आठौं स्थानमा रह्यो ।
गत संस्करण प्लेअफमा पुगेका कर्णाली याक्स र चितवन राइनोज यसपटक प्लेअफमा पुगेनन् । पोखरा एभेन्जर्सको यात्रा पनि यसपटक लिग चरणमै रोकियो । तर गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स भने यसपटक पनि प्लेअफमा प्रवेश गर्न सफल भएको छ । लगातार ६ खेल जितेको सुदूरपश्चिम अंक तालिकामा १२ अंकसहित शीर्ष स्थानमा रह्यो ।
सुदूरपश्चिमबाहेक, अन्य तीन टोली पहिलोपटक प्लेअफमा पुगेका हुन् । विराटनगर किङ्स दोस्रो, काठमान्डु गोर्खाज तेस्रो र लुम्बिनी लायन्स चौथो स्थानमा रहेका छन् ।
प्लेअफ संरचना अनुसार पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स भिड्नेछन् । विजेता टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीसँग अर्को अवसर हुनेछ । एलिमिनेटर खेलमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्नेछन् । विजेता टोली दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित टोलीसँग भिड्नेछ, जहाँबाट फाइनलमा जाने टोली तय हुनेछ ।
सुदूरपश्चिम रोयल्स
गत संस्करण पनि शीर्ष स्थानमा रहेर प्लेअफ खेलेको सुदूरपश्चिम रोयल्स यसपटक पनि लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । सुरुवाती ६ खेल लगातार जितेको टोली अन्तिम खेलमा मात्र पराजित भयो । कप्तान दीपेन्द्रसिंह ऐरीले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।
सर्वाधिक रनः विनोद भण्डारी (२०१), आरिफ शेख (१६०), दीपेन्द्रसिंह ऐरी (१४६)
सर्वाधिक विकेटः अविनाश बोहरा (१४), हर्मीत सिंह (१०), दीपेन्द्रसिंह ऐरी (७)
विराटनगर किङ्स
पहिलो संस्करण प्लेअफमा पुगेको थिएन, तर यसपटक दक्षिण अफ्रिकी फाफ डुप्लेसी र न्युजिल्यान्डका मार्टिन गप्टिलको समावेशले टोली बलियो देखिएको छ । कप्तान सन्दीप लामिछाने बलिङमा उत्कृष्ट लयमा छन् ।
सर्वाधिक रनः बसिर अहमद (१७६), लोकेश बम (१७५), मार्टिन गप्टिल (१२१)
सर्वाधिक विकेटः सन्दीप लामिछाने (१५), मर्चेन्ट डे लाङ (८)
काठमान्डु गोर्खाज
गत संस्करण नेट रनरेटका कारण प्लेअफमा पुग्न नसकेको काठमान्डु यसपटक पर्याप्त अंकसहित प्लेअफमा प्रवेश गरेको छ । ब्याटिङमा विदेशी खेलाडी बेन चाल्र्सवर्थ र जोन सिम्पसनले टोलीलाई योगदान दिएका छन् । बलिङमा भने नेपाली खेलाडीहरूको प्रमुख भूमिका छ ।
सर्वाधिक रनः बेन चाल्र्सवर्थ (१९७), जोन सिम्पसन (१५४), आकाश त्रिपाठी (११७)
सर्वाधिक विकेटः शाहब आलम (१२), करण केसी (१२), मिलिन्द कुमार (१०)
लुम्बिनी लायन्स
गत संस्करण लिग चरण पार गर्न नसकेको लुम्बिनीले यसपटक ठूलो परिवर्तन गर्दै प्लेअफमा प्रवेश गरेको छ । कप्तान रोहित पौडेलले टोलीलाई नेतृत्व गर्दै उत्कृष्ट रन बनाएका छन् । बलिङमा शेर मल्लले उत्कृष्ट प्रदर्शन गरेका छन् ।
सर्वाधिक रनः रोहित पौडेल (२०८), डार्शी शर्ट (१६४), दिलिप नाथ (११३)
सर्वाधिक विकेटः शेर मल्ल (१२), रुबेन ट्रम्पलमन (८), गुल्बादिन नाइब (५)
यस संस्करणको विजेता को बन्ला ? सबैको चासो छ ।