एम्नेस्टी इन्टरनेशनल नेपालले गत भदौको ‘जेनजी’ आन्दोलन नियन्त्रणका क्रममा सुरक्षाकर्मीहरूले घातक हतियारको गैरकानुनी प्रयोग गरेको निष्कर्ष सार्वजनिक गरेको छ ।
सोमबार काठमाडौंमा प्रतिवेदन सार्वजनिक गर्दै संस्थाले प्रदर्शन नियन्त्रणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डको गम्भीर उल्लंघन भएको जनाएको हो ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा एआई नेपालका निर्देशक निराजन थपलियाले भन्नुभयाे, “प्रदर्शन नियन्त्रणका क्रममा सुरक्षाकर्मीहरूले कम घातक हतियारको दुरुपयोग गर्नुका साथै घातक हतियार गैरकानुनी रुपमा प्रयोग गरेको प्रमाण भेटियाे ।” संस्थाले बानेश्वरस्थित संसद् भवन क्षेत्र नजिक भएको गोली प्रहारलाई ‘गैरन्यायिक र स्वेच्छाचारी हत्या’ को संकेत भनेको छ ।
एम्नेस्टीका अनुसार, भिडलाई तितरबितर पार्न आवश्यक वैकल्पिक उपाय नअपनाई प्रहरीले सिधै बल प्रयोग गरेको देखिन्छ । एक पूर्वसुरक्षा अधिकारीको विश्लेषण उदृत गर्दै प्रतिवेदनमा भनिएको छ, “भीड आक्रामक देखिएपछि सुरक्षाकर्मीहरूले आत्तिएर जे उपलब्ध थियो, त्यही प्रयोग गरेको हुनसक्छ ।”
रबरको गोली लागेर घाइते भएका एक प्रदर्शनकारीले आफूहरू शान्तिपूर्ण रूपमा विरोध जनाउन गएको बेला अनपेक्षित रूपमा गोली प्रहार भएको बताएका छन् ।
घातक हतियारको प्रयोग र अन्तर्राष्ट्रिय मापदण्डको उल्लंघन
संयुक्त राष्ट्रसंघीय सिद्धान्तअनुसार हिंसात्मक अवस्था नबनिएकै अवस्थामा बन्दुक प्रयोग गर्न नहुने स्पष्ट व्यवस्था छ । तर, जेनजी आन्दोलन नियन्त्रणका क्रममा प्रहरीले ठूलो संख्यामा धातुको गोली प्रयोग गरेको एमनेस्टीले जनाएको छ ।
प्रहरी पक्षले ‘ब्ल्याङ्क फायर’ मात्र भएको दाबी गरे पनि प्रतिवेदनले त्यसलाई खारेज गर्ने प्रमाण प्रस्तुत गरेको छ ।
प्रतिवेदनमा भनिएको छ, “मानव जीवनको जोखिम नदेखिँदा पनि प्रहरीले घातक बल प्रयोग गरेको पाइएको छ, जुन जीवनको अधिकारमाथिको स्वेच्छाचारी अतिक्रमण हो ।”
केही प्रत्यक्षदर्शीका भनाइ अनुसार, बानेश्वर क्षेत्रमा एकैसाथ धेरै स्थानबाट अन्धाधुन्ध गोली चलिरहेको थियो ।
एम्नेस्टीले घाइते र मृतकमध्ये धेरैलाई टाउको, घाँटी, छाती र पेटको माथिल्लो भागमा गोली परेको निष्कर्ष निकालेको छ । एक चिकित्सकका अनुसार, आकस्मिक कक्ष रगतले भरिएको थियो र धातुको गोलीले गम्भीर चोट बढेको थियो । प्रदर्शनकारीलाई तितरबितर पार्ने पानीको फोहोरा, अश्रुग्यास र रबर–प्लास्टिकका गोली प्रयोगका स्पष्ट नियमसमेत पालन नभएको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले भन्यो— सुरक्षाकर्मीहरूको प्रतिक्रिया सुरु देखिनै अत्यधिक आक्रामक थियो, र अन्तिम उपाय मानिने हतियार उनीहरूले सुरुवातमै प्रयोग गरिदिए ।
भदौ २३ मा बानेश्वरको ब्यारिकेड भाँचिएलगत्तै प्रहरीले कम घातक हतियार (पानीको फोहोरा, अश्रुग्यास, रबर–प्लास्टिक गोली) को दुरुपयोग गरेको एमनेस्टीले जनाएको छ । स्थानीय प्रशासन ऐनमा व्यापक हिंसा देखिएको अवस्थामा मात्र पानीको फोहोरा चलाउन मिल्ने व्यवस्था छ । तर त्यतिबेला भिड शान्तिपूर्ण रहेको प्रतिवेदनमा उल्लेख छ ।
अश्रुग्यासको प्रयोगतर्फ हेर्दा, काठमाडौंमै ३ हजार ९६ सेल चलाइएको तथ्यांकलाई एमनेस्टीले असामान्य र अनुचित ठहर गरेको छ । निकटका भवनका छानाबाटै अश्रुग्यास सिधै भिडमा प्रहार गरिनुले अन्तर्राष्ट्रिय अभ्यासको उल्लंघन भएको ठहर गरिन्छ । प्रहरीले किशोरकिशोरीलाई अघि सारेर ढुंगा–बोतल प्रहार गरेको आरोप लगाएको भए पनि एमनेस्टीले ब्यारिकेड भत्काउने घटनालाई ‘हिंसा मान्न नहुने’ स्पष्ट व्याख्या गरेको छ ।
एम्नेस्टी इन्टरनेशनलले सरकार, सुरक्षा निकाय, संसद्, महान्यायाधिवक्ता र अन्तर्राष्ट्रिय समुदायलाई लक्षित गरी करिब दुई दर्जन सिफारिस गरेको छ ।
मुख्य सिफारिसहरूमा—
• गैरकानुनी बल प्रयोगमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने,
• पञ्चायतकालीन स्थानीय प्रशासन ऐन संशोधन गरी घातक हतियार प्रयोग सीमित गर्ने,
• अश्रुग्यास र के.आई.पी. हतियारको प्रयोगलाई कडाइपूर्वक नियमन गर्ने,
• जेनजी आन्दोलनको दमनबारे स्वतन्त्र, निष्पक्ष र प्रभावकारी अनुसन्धान तुरुन्त सार्वजनिक गर्ने,
• गोली प्रहारका घटनामा ‘फौजदारी दायित्व’ सुनिश्चित गर्ने,
• शान्तिपूर्ण सभा–र्यालीमा गोली चलाउन पूर्ण प्रतिबन्ध लगाउने ।
एम्नेस्टीले नेपालले २०२१ मा अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको भए पनि त्यसको पालना नदेखिएको टिप्पणी गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।