नेपाल भन्सार विभागले २०७८ मा गरेको संशोधनअनुसार २ सय प्रतिशतसम्म जरिवाना सहितको विषयमा सुधारको माग राखि गरिएको नेपाल भन्सार एजेन्ट संघको आन्दोलन प्रति बुटवल उद्योग वाणिज्य संघले ऐक्यवद्धता व्यक्त गरेको छ ।
संघले बुधबार एक विज्ञप्ती जारी गरि भन्सार प्रणालीमा देखिएको प्राविधिक समस्या, अनलाइन डाटा अपूर्णता र व्यवस्थापनगत कमजोरीका कारण मंसिर २३ गतेदेखि क्लियरन्स रोकिँदा आयात–निर्यात दुवै प्रभावित भएको भन्दै तत्काल समाधान गर्न माग गरेको हो ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालद्वारा जारी विज्ञप्तीमा भन्सार प्रणालीका कमजोरीले व्यवसाय सञ्चालन, माल ढुवानी, आयात–निर्यात प्रक्रिया र राजस्व संकलनमा गम्भीर असर पारेको उल्लेख गरिएको छ ।
नेपाली अर्थतन्त्रको प्रमुख आधार नै भन्सार राजस्व रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ–‘… तथापी भन्सार महशुल संकलन, भन्सार नियमन, प्रणालीको प्रयोग, हालैमात्र शुरुवात गरिएको अनलाइन डाटाबेस प्रणाली पुर्णरुपमा लागु नहुनु, भन्सार ऐन २०८२ मा संशोधित दफाहरुमा २ सय प्रतिशतसम्म गरिएको दण्ड जरिवाना लगाउने व्यवस्थाको कारण भन्सार कार्यालय र व्यवस्था, व्यवसायी मैत्री हुन सकेको छैन ।’
यस प्रकारको प्रणालीगत र व्यवहारगत सुधार गरी आयात निर्यात सहज र छरितो बनाउन भन्सार प्रशासन तथा प्रणालीको प्राथमिकता हुनेपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
संघले भन्सार समस्याका कारण उत्पन्न भएका चुनौतीप्रति ध्यानाकर्षण गराउँदै, नेपाल भन्सार एजेन्ट संघले सुरु गरेको ‘पेन डाउन’ कार्यक्रमप्रति समर्थन जनाएको छ । साथै, सरकार तथा सम्बन्धित निकायलाई तत्काल समाधान गर्न आग्रह गरिएको छ ।