लुम्बिनी लायन्स एनपीएलको फाइनलमा : उपाधिकाे लागि सुदूरपश्चिमसंग भिड्ने

1.3K

लुम्बिनी लायन्स एनपीएलको फाइनलमा : उपाधिकाे लागि सुदूरपश्चिमसंग भिड्ने

कसिलो र अनुशासित बलिङको प्रदर्शनका साथ लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ को फाइनलमा प्रवेश गर्न सफल भएको छ । लुम्बिनीले बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा भएको क्वालिफायर–२ मा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै उपाधि भिडन्त पक्का गर्‍यो ।
टस जितेर व्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्रै बनाउन सकेको थियो । तर, तिलकराज भण्डारीको उत्कृष्ट स्पेलसहित बलरहरूको सामूहिक प्रदर्शनमा भर पर्दै विराटनगरलाई १७.५ ओभरमै ९४ रनमा समेटियो । लगातार दोस्रो खेलमा विराटनगर १ सय रनमुनि अलआउट भएको हो ।
लुम्बिनीका लागि लेग ब्रेक बलर तिलकले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । अभिशेष गौतम, रुबेन ट्रम्पलमन र जेजे स्मिटले समान २–२ विकेट झारे भने शेर मल्लले १ विकेट थपे । ट्रम्पलमनले लगातार बलमा मार्टिन गप्टिल (२) र लोकेश बम (०) लाई आउट गर्दै विराटनगरलाई दबाबमा पारे । शेरले फाफ डु प्लेसिसलाई ३ रनमा बोल्ड गरेपछि विराटनगर ६ रनमै ३ विकेट गुमाएर संकटमा परेको थियो ।
विराटनगरका साम हेजलेटले सर्वाधिक ३४ रन बनाए । नरेन भट्टले २१ रन जोड्दा डी ल्याङ्गेले १७ रन बनाए । तर अन्य व्याटरहरू दोहोरो अंकमा पुग्न सकेनन् ।
यसअघि, लुम्बिनीका रोहित पौडेल र डी’आरसी शटले दोस्रो विकेटका लागि ५४ बलमा ६९ रनको अर्धशतकीय साझेदारी गरे पनि टोलीलाई ठूलो स्कोरसम्म पुर्‍याउन सकेनन् । रोहितले ३० बलमा ३० रन बनाए भने शटले ४१ बलमा ४५ रनको इनिङ खेले । तर मध्यक्रमले अपेक्षित योगदान नदिनुका कारण लुम्बिनी १३४ रनमै रोकियो ।
विराटनगरका सुवास भण्डारी र प्रतिश जिसीले समान ३–३ विकेट लिए । सुवासले ४ ओभरमा १४ रनमात्र खर्चेर प्रभावशाली प्रदर्शन गरे । कप्तान सन्दीप लामिछानेले २ विकेट हात पारे ।
लगातार पाँचौं खेल जितेको लुम्बिनीले अब शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।