नेकपा एमाले रुपन्देहीका सचिव तथा सैनामैना नगरपालिकाका पूर्व नगर प्रमुख चित्रबहादुर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारीमा हुनुहुन्छ । एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलका पूर्व स्वकीय सचिवसमेत रहेका कार्की लामो समयदेखि एमाले पार्टी राजनीतिमा सक्रिय हुनुहुन्थ्याे ।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सरकारले गरेको दमनप्रति असन्तुष्टि जनाउँदै कार्कीले उतिबेलै एमाले परित्यागको घोषणा गर्नुभएकाे थियाे । आन्दोलनका क्रममा युवा–विद्यार्थीको ज्यान गएको घटनाप्रति सरकारले कुनै नैतिक जिम्मेवारी नलिएको, बरु सामाजिक सञ्जाल बन्द, दमन र द्वन्द्वलाई प्रश्रय दिने अभिव्यक्ति दिइरहेकाले आफू पार्टीबाट अलग भएको उहाँको भनाइ छ । त्यसयता उहाँ एमालेको कुनै पनि पार्टी गतिविधिमा सहभागी हुनुभएकाे थिएन ।
उहाँका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले लगायत शीर्ष नेताहरूसँगको संवाद र छलफलपछि कार्कीले रास्वपा रोज्नुभएकाे हाे ।
कार्कीलाई औपचारिक रूपमा पार्टी प्रवेश गराउन रास्वपाले आइतबार सैनामैनामा वृहत पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा उपसभापति स्वर्णिम वाग्ले लगायतका शीर्ष नेताहरू सहभागी हुन रुपन्देही आउँदै छन् ।