नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर घटाएसँगै बैंकहरूले पुस महिनाका लागि निक्षेपको ब्याजदर थप घटाएका छन् । उच्च तरलता र अपेक्षितभन्दा कम कर्जा प्रवाहको अवस्थामा नीतिगत दर ४.५० प्रतिशतबाट ४.२५ प्रतिशतमा झरेपछि बैंकहरूलाई ब्याजदर घटाउन थप दबाब परेको हो ।
२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर मंसिरको तुलनामा औसतमा ०.२० प्रतिशत विन्दुले घटेको छ । मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ५.०४ प्रतिशत रहेकोमा पुसमा घटेर ४.८३ प्रतिशतमा झरेको छ ।
व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा पनि कमी आउने बैंकिङ क्षेत्रको अभ्यास छ । निक्षेपको ब्याजदर घटेसँगै आधार दर कम हुने र त्यसको असर कर्जाको ब्याजदरमा पनि पर्ने अपेक्षा गरिएको छ ।
पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ६ प्रतिशतभन्दा तल झरेको छ । मंसिरमा ६ प्रतिशत ब्याजदर दिएको ग्लोबल आईएमई बैंकले पुसमा अधिकतम ब्याजदर ५.५ प्रतिशतमा सीमित गरेको छ ।
मंसिरको तुलनामा पुसमा १३ वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ७ बैंकले स्थिर राखेका छन् । ब्याजदर घटाउने बैंकमा कृषि विकास, एभरेस्ट, नेपाल, लक्ष्मी सनराइज, प्रभु, स्ट्यान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आईएमई, प्राइम कमर्सियल, कुमारी, सानिमा र एसबीआई बैंक रहेका छन् ।
त्यसैगरी माछापुच्छ्रे, एनआईसी एसिया, सिद्धार्थ, हिमालयन, नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी र सिटिजन्स बैंकले भने ब्याजदर स्थिर राखेका छन् ।
हाल बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेको तर कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न नसक्दा ब्याजदर घट्दो क्रममा रहेको बैंकर्सहरू बताउँछन् । यसैबीच राष्ट्र बैंकले वित्तीय प्रणालीमा तरलता व्यवस्थापन तथा अन्तरबैंक ब्याजदर नियन्त्रणका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण प्रयोग गरी बैंकिङ प्रणालीबाट तरलता खिच्दै आएको छ ।