समान संख्यामा विस्थापित र स्थापित गर्न ट्यांकर व्यवसायीको माग

1.3K

समान संख्यामा विस्थापित र स्थापित गर्न ट्यांकर व्यवसायीको माग

पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघको १७ औँ वार्षिक साधारण सभा बुधबार तिलोत्तमास्थित कुन्ज पार्कमा सम्पन्न भएको छ । सभामा वक्ताहरूले ट्यांकर व्यवसायीहरूले भोग्दै आएका समस्या, इन्धन ढुवानीको सुरक्षा, भाडादर, बीमा व्यवस्था, चालकहरूको क्षमता अभिवृद्धि तथा व्यवसायलाई व्यवस्थित र दिगो बनाउने विषयमा जोड दिएका थिए । साथै, सरकारसँग सहकार्य गर्दै व्यवसायीको हकहित संरक्षणका लागि संघले अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो ।
कार्यक्रममा संघका सल्लाहकार चोपनारायण श्रेष्ठ तथा गाडी सञ्चालन उपसमितिका संयोजक प्रेम जीएमले ट्यांकर व्यवसायीहरूले पुरानो एक गाडी विस्थापित गर्दा त्यसको सट्टा नयाँ एक गाडी स्थापना गर्न पाउने व्यवस्था गर्न नेपाल आयल निगमलाई सुझाव दिनुभएको थियो ।
त्यस्तै, पेट्रोलियम डिलर्स लुम्बिनीका अध्यक्ष प्रेम न्यौपाने तथा पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष हिमाल गैरेले नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालयले हालसम्म गरेको कार्यको प्रशंसा गर्दै व्यवसायीलाई थप राहत पुग्ने गरी दीर्घकालीन कार्ययोजना ल्याउन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय, भलबाडीका प्रमुख शैलेन्द्र भुसालले ट्यांकर व्यवसायी, चालक तथा डिलरहरूको हित र व्यवसाय संरक्षणका लागि निगम सधैँ गम्भीर रहेको स्पष्ट पार्नुभयो । उहाँले व्यवसायीहरूको मागअनुसार ‘एक गाडी विस्थापित–एक गाडी स्थापित’ गर्ने व्यवस्था निगमका लागि समस्या नभएको उल्लेख गर्दै भारतबाट आयात हुने पेट्रोलियम पदार्थको पाइपलाइन सञ्चालनपछि ट्यांकर व्यवसाय प्रभावित हुन सक्ने विषयमा निगम पहिल्यैदेखि सजग रहेको जानकारी दिनुभयो ।
संघका अध्यक्ष राकेशकुमार कशौधनको अध्यक्षतामा सम्पन्न साधारण सभाले विगत आर्थिक वर्षको प्रगति समीक्षा गर्नुका साथै आगामी कार्ययोजना तथा नीति–कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको संघका महासचिव भूपराज अर्यालले जानकारी दिनुभयो । साधारण सभामा महासचिव अर्यालले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष धनेन्द्र पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभाले दुवै प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत रूपमा अनुमोदन गरेको छ ।
साधारण सभाको अवसरमा उत्कृष्ट कार्य गर्ने व्यवसायी, चालक तथा संघका सदस्यहरूलाई सम्मानसमेत गरिएको थियो ।