व्यवसायिक सुरक्षामा स्थानीय सरकार गम्भीर छ : नगर प्रमुख खाण

1.3K

व्यवसायिक सुरक्षामा स्थानीय सरकार गम्भीर छ : नगर प्रमुख खाण

तिलोत्तमा व्यापार संघको १२औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले तिलोत्तमाको आर्थिक विकासमा व्यवसायीहरूको भूमिका निर्णायक रहेको बताउनुभयो । उहाँले व्यापार संघले व्यवसायीको हक–हित संरक्षण, व्यावसायिक एकता तथा समस्या समाधानमा खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।
नगर प्रमुख खाणले व्यवसायिक सुरक्षाको वातावरण निर्माण गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको स्पष्ट पार्दै चोरी, आगलागी, कर तथा प्रशासनिक झन्झटजस्ता समस्याको समाधानमा नगरपालिका गम्भीर रहेको बताउनुभयो । साथै, तिलोत्तमा व्यापार संघको आफ्नै भवन निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापनको प्रक्रियामा नगरपालिका लागेको जानकारी दिँदै संघलाई दीर्घकालीन रूपमा सशक्त बनाउनेतर्फ स्थानीय सरकार सकारात्मक रहेको धारणा व्यक्त गर्नुभयो । “व्यवसायी सुरक्षित भए मात्र नगरको आर्थिक चक्र बलियो हुन्छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख जगेश्वरीदेवी चौधरीले व्यवसायीहरू स्थानीय विकासका साझेदार भएको बताउनुभयो । उहाँले साना तथा मझौला व्यवसायीहरूले भोग्दै आएका समस्या समाधानका लागि नगरपालिकाले नीतिगत तथा व्यवहारिक सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । उपप्रमुख चौधरीले महिला, युवा तथा घरेलु उद्योगलाई प्राथमिकतामा राखी उद्यमशीलता प्रवर्द्धन गर्ने नगरको नीति रहेको बताउँदै व्यापार संघसँगको सहकार्यलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता जनाउनुभयो ।
नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले निजी क्षेत्रलाई सहज वातावरण नदिई समृद्धि सम्भव नहुने बताउनुभयो । उहाँले कर प्रणाली सरल, पारदर्शी तथा व्यवसायमैत्री हुनुपर्नेमा जोड दिँदै तिलोत्तमा व्यापार संघको आफ्नै सचिवालय भवनका लागि हालसम्म जग्गा व्यवस्थापन हुन नसक्नु बिडम्बनापूर्ण रहेको उल्लेख गर्नुभयो ।
संघका संस्थापक अध्यक्ष एवं नेपाल चेम्बर अफ कमर्शका प्रदेश उपाध्यक्ष झविन्द्रप्रसाद कँडेलले संघको स्थापनाकालीन उद्देश्य र हालको भूमिकाबारे चर्चा गर्दै व्यवसायीको एकताबाट मात्र अधिकार सुनिश्चित गर्न सकिने बताउनुभयो ।
संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सीमा भन्सार व्यवस्थापन सुधार, भ्याट प्रणाली प्रभावकारी कार्यान्वयन, व्यवसायीमैत्री नीति निर्माण तथा व्यवसायीको सुरक्षा सुनिश्चित गर्नुपर्ने विषयमा जोड दिनुभयो ।
कार्यक्रममा रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, नेकपा एमाले तिलोत्तमा नगर अध्यक्ष मिनप्रसाद पोखरेल, नेकपा (माओवादी केन्द्र) तिलोत्तमा नगर अध्यक्ष रज्जु रसाइली, तिलोत्तमा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष सुरज पंगेनी, तिलोत्तमा व्यापार संघका प्रेस सल्लाहकार लक्ष्मण पौडेल, वरिष्ठ उपाध्यक्ष विष्णुबहादुर बराल क्षेत्री, महासचिव चेतनारायण विश्वकर्मा लगायतले स्थानीय सरकार र व्यवसायीबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभएको थियो ।
साधारण सभाको अवसरमा पसल चोरीबाट क्षति व्यहोरेका तिलोत्तमा भाँडा पसलका सञ्चालक कृष्ण सुवेदी तथा विद्युत सर्ट भई आगलागीबाट क्षति पुगेको तिलोत्तमा–२ शंकरनगरस्थित गौतम इलेक्ट्रिकका सञ्चालक शालिकराम गौतमलाई राहत रकम प्रदान गरिएको थियो ।