सदस्यता नटुंगिँदा काँग्रेसको वडा अधिवेशन प्रभावित

1.3K

सदस्यता नटुंगिँदा काँग्रेसको वडा अधिवेशन प्रभावित

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर नेपाली काँग्रेसले आज (बुधबार) गर्ने भनिएको वडा अधिवेशन प्रभावित भएको छ । पार्टीको क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको काम निर्धारित समयमै सम्पन्न हुन नसक्दा वडा अधिवेशन अन्योलमा परेको हो ।
वडा अधिवेशन प्रभावित हुने संकेत पहिले नै देखिए पनि काँग्रेस केन्द्रीय कार्यसमितिले अधिवेशन गर्ने वा नगर्ने विषयमा औपचारिक परिपत्र भने जारी गरेको छैन । क्रियाशील सदस्यता नवीकरणमा ढिलाइ भएपछि १६ पुसमा हुने भनिएको वडा अधिवेशन नहुने सम्भावना बढेको थियो ।
यसैबीच काँग्रेसले ९ पुसदेखि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको थियो । बैठकले महाधिवेशनको कार्यतालिका हेरफेर र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची तय गर्ने बताइए पनि छलफल मुख्यतः बन्दसूचीमै सीमित हुँदा वडा अधिवेशनबारे कुनै निर्णय हुन सकेन ।
काँग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ ले तोकिएको समयमै सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्न नसक्दा महाधिवेशनको समग्र कार्यतालिकामै अन्योल देखिएको छ । १५ मंसिरमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले २५ मंसिरभित्र सदस्यता नवीकरण नभएका, छुटेका तथा विवरण पठाउन बाँकी रहेका जिल्लालाई अन्तिम नामावली र रकम केन्द्रमा पठाउन निर्देशन दिएको थियो ।
काम समयमै सम्पन्न नहुने देखिएपछि समितिले २४ मंसिरमा चार दिन म्याद थप गरेको थियो । समिति संयोजक तथा महामन्त्री गगनकुमार थापाले जिल्ला सभापतिहरूलाई २९ मंसिरभित्र नवीकरण सम्पन्न गरी ३ पुसभित्र केन्द्रमा पठाउन निर्देशन दिनु भएको थियो । तर उक्त समयसीमाभित्र पनि काम पूरा हुन नसकेपछि समितिले क्रियाशील सदस्यता नवीकरणका लागि ९ पुस र नयाँ सदस्यता वितरणका लागि १० पुससम्मको समय थप गरेको थियो । पछिल्लो पटक थप गरिएको म्यादमा पनि सदस्यता नवीकरण तथा वितरणको काम सम्पन्न गर्न सकेको छैन ।