इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरूले एक आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।
नयाँ वर्ष प्रारम्भ भएको अवसरमा आज विश्वका विभिन्न देशका नेताहरूले शुभकामना सन्देश जारी गर्दै विश्वमा शान्ति, समृद्धि र सहकार्यको कामना गरेका छन् ।
ग्रेगोरियन पात्रोअनुसार सन् २०२५ को बिदाइ र सन् २०२६ को स्वागतमा विश्वभर विविध कार्यक्रमहरू आयोजना भइरहेका छन् । यशु ख्रीष्टको जन्म भएको वर्षलाई आधार मानी पादरी ग्रेगोरीयनले सुरु गरेकाले यस पात्रोलाई ग्रेगोरियन पात्रो भनिन्छ ।
इस्वी संवत्को नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रमहरू भइरहेका छन् ।
काठमाडौँ, लुम्बिनी, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहा लगायतका पर्यटकीय क्षेत्रमा मानिसहरूको उल्लेख्य भीड छ । ती स्थानहरू तथा हाेटलहरुमा समेत हिजाे बेलुकीदेखि नै ‘न्यु इयर इभ’ का अवसरमा विशेष कार्यक्रमहर गरिएकाे थियाे ।