सकियाे बुटवल सडक खाना महोत्सव : २ कराेड बढीकाे कारोबार

1.3K

सकियाे बुटवल सडक खाना महोत्सव : २ कराेड बढीकाे कारोबार

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गरिएको बुटवल सडक खाना महोत्सव २ करोडभन्दा बढीको कारोबार गर्दै सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा सञ्चालन भएको तीनदिने महोत्सव बिहीबार साँझ समापन गरिएको हो ।
समापन कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले कालिकापथलाई रात्रीकालीन बजारका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउनु भयाे । पर्यटनलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा लिनुपर्ने उल्लेख गर्दै उहाँले पर्यटकीय स्थलको विकास र प्रचार–प्रसारमा स्थानीय सरकार सहकार्य गर्न तयार रहेको बताउनु भयाे ।
संघका अध्यक्ष माधवकुमार खनालले नेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको संरक्षण गर्दै आन्तरिक पर्यटन प्रवर्द्धन, विकास र रोजगारी सिर्जनामा यस्ता महोत्सव प्रभावकारी हुने बताउनु भयाे । कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गर्दै उहाँले पर्यटन गन्तव्यको बजारीकरणका लागि दीर्घकालीन सरकारी योजना आवश्यक रहेको धारणा राख्नुभयाे ।
महोत्सवका स्टलहरूमध्ये साजसज्जा, संस्कृति पहिचान र परिकारका आधारमा उचडिहवा स्वावलम्बन महिला समूह प्रथम, समयबजी भ्वय (बुटवल–३) दोस्रो र अर्घाखाँची क्याटरिङ एण्ड पार्टी प्यालेस तेस्रो भएका छन् । न्यु स्वाद गोलपार्क, मगरी खाजाघर र सैनामैना थारु परिकारलाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ । सामाजिक उत्तरदायित्वतर्फ उत्कृष्ट योगदानका लागि पहिलो पाइला नेपाल र मारवाडी महिला मञ्च बुटवल सम्मानित भएका छन् ।
तीन दिनसम्म चलेको महोत्सवमा दैनिक रूपमा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहेको संघका पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डेले जानकारी दिए । महोत्सवमा प्रकाश सपुत, पुष्कल शर्मा, शान्तिरानी परियार, खुमन अधिकारी, शिलु भट्टराई, नारायण बीपी परियार, अनु रानालगायत कलाकारहरूको प्रस्तुति रहेको थियो । साथै विष्णुजी पाण्डे ‘माइलाबा’, पुर्खेबा र उज्ज्वल गिरीसहितका हास्यकलाकारले दर्शकलाई मनोरञ्जन दिएका थिए ।
संघका महासचिव केशवराज कँडेलका अनुसार महोत्सवमा करिब ढाई लाख दर्शकको सहभागिता रहेको थियो भने कोषाध्यक्ष अर्जुन पोखरेलले महोत्सवमा २ कराेड रुपंया भन्दा बढीकाे कारोबार भएको जानकारी दिनुभयाे ।