काँग्रेस विशेष महाधिवेशन : संगठन सुदृढीकरण र पुस्तान्तरणमा जोड

1.3K

काँग्रेस विशेष महाधिवेशन : संगठन सुदृढीकरण र पुस्तान्तरणमा जोड

नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशन औपचारिक रूपमा उद्घाटन भएको छ । पार्टी संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्रको मजबुती र बदलिँदो राजनीतिक सन्दर्भमा काँग्रेसको भावी कार्यदिशा तय गर्ने उद्देश्यसहित विशेष महाधिवेशन सुरु गरिएको हो ।
उद्घाटन सत्रको सभापतित्व काठमाडौं जिल्ला सभापतिले गर्नुभएकाे थियाे भने बन्दसत्रको सभापतित्व ज्येष्ठ महाधिवेशन प्रतिनिधिले गर्ने व्यवस्था गरिएको विशेष महाधिवेशन सचिवालयले जनाएको छ । उद्घाटन समारोहमा पार्टीका शीर्ष नेता, केन्द्रीय सदस्य, प्रदेश तथा जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
उद्घाटन समारोहमा बोल्दै महामन्त्री गगन थापाले पार्टीभित्र स्पष्ट सुधारको खाँचो औँल्याउँदै विशेष महाधिवेशन काँग्रेसलाई रूपान्तरण गर्ने अवसर भएको बताउनु भयाे । उहाँले संगठनात्मक कमजोरी, निर्णय कार्यान्वयनमा देखिएको ढिलासुस्ती र जिम्मेवारी वहन गर्ने संस्कृतिमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनु भयाे । महामन्त्री थापाले भन्नुभयाे, “काँग्रेस अब केवल इतिहासको भरोसामा होइन, परिणाम दिने पार्टीका रूपमा अघि बढ्नुपर्छ ।” उहाँले आन्तरिक लोकतन्त्रलाई व्यवहारमै उतार्दै कार्यकर्तामा आशा जगाउने नेतृत्व आवश्यक रहेको भनाई राख्नुभयाे ।
त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनलाई आत्मसमीक्षा र एकताको थलोका रूपमा चित्रण गर्नुभयाे । उहाँले पार्टीभित्र फरक मत हुनु स्वाभाविक भए पनि त्यसले विभाजन होइन, शक्ति निर्माण गर्नुपर्ने बताउनुभयाे । शर्माले काँग्रेसको मूल शक्ति लोकतान्त्रिक मूल्य, समावेशी सोच र जनतासँगको सम्बन्ध भएको उल्लेख गर्दै संगठनलाई अनुशासित र जनमुखी बनाउनुपर्नेमा जोड दिनुभयाे । “काँग्रेस बदलिनु पर्ने छ, तर आफ्नो आत्मा गुमाएर होइन,” शर्माको भनाइ थियो ।
दुवै महामन्त्रीले युवापुस्ताको सहभागिता, पारदर्शी निर्णय प्रक्रिया र जिम्मेवार नेतृत्व विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताएका थिए । उनीहरूले विशेष महाधिवेशनले पार्टीलाई आगामी निर्वाचन र राष्ट्रिय राजनीतिका लागि थप सक्षम बनाउने विश्वास व्यक्त गरे ।
उद्घाटन सत्रमा पार्टी नेतृत्वले लोकतन्त्र, संविधान र संघीय व्यवस्थाको रक्षा काँग्रेसको मूल दायित्व भएको दोहोर्‍याउँदै वर्तमान राजनीतिक अवस्था, सरकार र प्रतिपक्षी भूमिकाबारे स्पष्ट धारणा राखेको थियो ।
नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनमा विधान, संगठनात्मक संरचना र समसामयिक राजनीतिक प्रस्तावमाथि बन्दसत्रमा विस्तृत छलफल हुने जनाइएको छ । उद्घाटन समारोहले पार्टीभित्र बहस, सुधार र एकतासहित नयाँ चरणको सुरुआत भएको संकेत गरेको नेताहरूको भनाइ छ ।