जसपा नेपाल र लोसपा एकीकरण सहमति : महन्थ संरक्षक, उपेन्द्र अध्यक्ष

1.3K

जसपा नेपाल र लोसपा एकीकरण सहमति : महन्थ संरक्षक, उपेन्द्र अध्यक्ष

जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच एकीकरण सहमति भएको छ । आइतबार दुवै दलबीच १२ बुँदे सहमतिमा हस्ताक्षर भएसँगै औपचारिक एकताको प्रक्रिया अघि बढेको हो ।
सहमति अनुसार एकीकरणपछि नयाँ दलको नाम जनता समाजवादी पार्टी (जसपा) नेपाल नै कायम रहनेछ । पार्टी संरचनामा लोसपाका अध्यक्ष महन्थ ठाकुर संरक्षक र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टी अध्यक्षको जिम्मेवारीमा रहने सहमति भएको छ ।
सहमति पत्रमा एकीकरणपछिको संगठनात्मक संरचनासमेत टुंगो लगाइएको छ । त्यसअनुसार ११ सदस्यीय सचिवालय गठन गर्ने तथा ४३ सदस्यीय केन्द्रीय समन्वय समिति बनाउने सहमति गरिएको छ । समन्वय समितिले पार्टी एकीकरणपछिका बाँकी काम, संगठन व्यवस्थापन र भावी महाधिवेशनको तयारी गर्नेछ ।
केन्द्रीय समन्वय समितिमा महन्थ ठाकुर, उपेन्द्र यादव, अर्जुन थापा, अशेश्वर यादव, उमाकान्त झा, चन्देश्वर पासवान, जितेन्द्रप्रसाद सोनार, उमेश यादव, तारा विश्वकर्मा, दिपक कार्की, निर्जला राउत, प्रकाश अधिकारी, परमेश्वर साह, बलविर नेपाली, वृषेशचन्द्र लाल, डा. विजयकुमार सिंह, विनोदकुमार सिंह, मृगेन्द्रकुमार सिंह यादव, मिनषकुमार मिश्र, मुकेशकुमार झा, मो. खालिद सिद्धिकी, रेणुकुमारी यादव, रमेशप्रसाद कुर्मी, रामकुमार शर्मा, राजकुमार राई, रकम चेम्जोङ, लालबाबु राउत, लाक्पा शेर्पा, लक्ष्मणलाल कर्ण, शरत्सिंह भण्डारी, सवेन्द्रनाथ शुक्ल, डा. सुरेन्द्रकुमार झा, डा. शिवजी यादव, डा. सुरेन्द्रकुमार यादव, सुरेश मण्डल, सुनी लामा, हृदयेश त्रिपाठी, हरिनारायण यादव, लालकिश्वर साह, चन्देश्वरप्रसाद सिंह, प्रमिला यादव, जैनुल राइन र लिलादेवी सिटौला रहेका छन् ।
दुवै दलका नेताहरूले एकीकरणले मधेस केन्द्रित राजनीति सुदृढ बनाउने, लोकतान्त्रिक संघर्षलाई मजबुत गर्ने र आगामी राजनीतिक चुनौतीहरू सामना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।