नेपाल सरकार मन्त्रिपरिषद्को हिजो सोमबार बसेको बैठकले राष्ट्रिय, अन्तर्राष्ट्रिय र प्रशासनिक महत्वका विभिन्न निर्णय गरेको छ । बैठकले २०८२ माघ ४ गते संघीय संसदको राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
बैठकले वित्तीय क्षेत्र विकास रणनीति (२०८२/८३–२०८६/८७) तथा मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरेको छ । साथै दलितको हक अधिकार तथा विकाससम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गरिएको छ ।
अन्तर्राष्ट्रियस्तरमा नेपालले विभिन्न बैठक तथा सम्मेलनमा सहभागी हुन उच्च अधिकारीहरूलाई स्वीकृति दिएको छ । चीन, इटली, मेक्सिको, मोरक्को, स्पेन र स्वीट्जरल्याण्डमा हुने अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा मन्त्री, सचिव तथा प्रतिनिधिमण्डल सहभागी हुने भएका छन् । म्यानमारमा हुने निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षक पठाउने र त्यहाँका भूकम्पबाट क्षतिग्रस्त धार्मिक संरचनाको पुनर्निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्ने निर्णय पनि गरिएको छ ।
प्रशासनिकतर्फ मालपोत तथा नापी कार्यालय स्थापना, न्याय सेवा र नेपाली सेनामा सरुवा तथा बढुवा, गोरखापत्र संस्थानको अध्यक्ष नियुक्ति तथा प्रधानमन्त्रीको प्रेस सल्लाहकार नियुक्ति गर्ने निर्णय बैठकले गरेको छ ।