रास्वपाका सांसदलाई प्रशिक्षण : सभापति लामिछानेकाे जिम्मेवार अभिव्यक्ति

1.3K

रास्वपाका सांसदलाई प्रशिक्षण : सभापति लामिछानेकाे जिम्मेवार अभिव्यक्ति

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका निर्वाचित प्रतिनिधिहरूलाई लक्षित गर्दै अभिव्यक्तिमा संयम र जिम्मेवारी अनिवार्य भएको बताएका छन् । अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले सरकार बनेपछि त्यसलाई अस्थिर बनाउन विभिन्न समूह सक्रिय हुने गरेको उल्लेख गर्दै पार्टीभित्र फाटो ल्याउने प्रयासप्रति सचेत रहन आग्रह गरे ।
उनले भने, पार्टीभित्र एकता कायम राख्न नसकिए र व्यक्तिगत स्वार्थ हाबी भए मात्रै समस्या उत्पन्न हुने हो । अन्य दलबाट आएका निर्वाचित प्रतिनिधिहरूलाई पनि पुराना राजनीतिक संस्कारबाट टाढा रहन उनले सुझाव दिए ।
सभापति लामिछानेले सांसदहरूलाई जथाभावी बोल्ने वा हल्का ढंगले प्रस्तुत हुने छुट नभएको स्पष्ट पार्दै प्रत्येक मतको सम्मान गर्नुपर्ने बताए । “जनताले मत दिएपछि हाम्रो भूमिका बदलिएको छ, अब जनतामै असर पर्ने गरी काम गर्नुपर्छ,” उनले भने ।
उनले निर्वाचित प्रतिनिधिहरूलाई आफ्नो अभिव्यक्तिप्रति सचेत रहन, कानुनी प्रक्रिया र प्रशासनिक संरचनाबारे जानकारी राख्न तथा अनावश्यक पहुँचको खोजी नगर्न निर्देशन दिए । “कुन धाराले कहाँ काम अड्किएको छ भन्ने बुझ्नुहोस्, कसैको पछि दौडिनु पर्दैन,” उनले जोड दिए ।
साथै उनले सरकारी स्वास्थ्य सेवाको प्रयोगलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै सार्वजनिक प्रणालीप्रति विश्वास बढाउन आग्रह गरे ।
पार्टीको विगत स्मरण गर्दै लामिछानेले स्थापना कालदेखि नै विभिन्न चुनौती र प्रहार सामना गर्नुपरेको बताए । ती सबै चुनौतीबीच पार्टीलाई जोगाउँदै अघि बढेको उल्लेख गर्दै उनले जनताको विश्वासलाई अझ मजबुत बनाउन अनुशासन र कडाइ आवश्यक रहेको बताए ।
उनले पार्टीभित्र अनुशासन कायम गर्न आवश्यक परे कारबाही गर्ने र ‘राइट टु रिकॉल’ जस्ता व्यवस्था लागू गर्ने संकेत पनि दिए । उनले देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै जनताले दिएको जिम्मेवारी गम्भीर भएको उल्लेख गरे । उनले भने-“जनताले ‘देश बचाऊ’ भनेर जिम्मा दिएका छन्, अब त्यसको इमानदारीपूर्वक पालना गर्नु हाम्रो कर्तव्य हो ।”