बुटवलमा ‘सौभाग्य गोल्डकप’ फुटबल प्रतियोगिता हुँदै

1.3K

बुटवलमा ‘सौभाग्य गोल्डकप’ फुटबल प्रतियोगिता हुँदै

शहिद प्रचण्ड थैवको स्मृतिमा दोस्रो ‘सौभाग्य गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता यही चैत १९ गतेदेखि बुटवल–७ स्थित सिद्धेश्वरी माविकाे खेलमैदानमा सञ्चालन हुनेछ ।
बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा सौभाग्य युवा क्लब, बुटवल–७ को आयोजनामा हुने प्रतियोगिताको तयारी तीव्र पारिएको शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । क्लबका अध्यक्ष सुजु मल्लका अनुसार प्रतियोगितामार्फत विभिन्न जिल्लाबाट खेलप्रेमी दर्शक आकर्षित गरी आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।
प्रतियोगितामा रुपन्देहीसहित चितवन, नवलपरासी र कपिलवस्तुका चर्चित १२ वटा क्लव प्रतिस्पर्धामा सहभागी हुने क्लबका सचिव प्रकाश क्षेत्रीले जानकारी दिए ।
प्रतियोगिताका विजेतालाई ५ लाख ५ हजार रुपैयाँ तथा उपविजेतालाई २ लाख ५५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । साथै, उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षकलगायत विभिन्न विधामा उत्कृष्ट खेलाडिलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजकका अनुसार यो रुपन्देहीकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता हुनेछ ।
पत्रकार सम्मेलनमा बुटवल उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष पदमबहादुर गाहाले यस्ता प्रतियाेगिताले खेलकुदकाे विकाससंगै खेलाडि उत्पादनमा समेत याेगदान पुग्ने बताए । त्यसअवसरमा क्लवका अध्यक्ष तथा वडा अध्यक्षसहित रुपन्देही फुटबल संघका पूर्व सचिव दीपक गुरुङ, सौभाग्य टिमका प्रशिक्षक प्रदीप आचार्य, म्याच कमिश्नार विष्णु पौडेल, बिस पचहत्तर युवा क्लबका अध्यक्ष सुरेन्द्र थापा तथा स्वर्गीय प्रचण्ड थैवका सुपुत्र राधव थैवलगायतले विजेता, उपविजेता र उत्कृष्ट खेलाडीलाई प्रदान गरिने शिल्ड तथा कपको संयुक्त रूपमा अनावरण गरेका थिए ।
प्रतियोगिता अवलोकनका लागि दर्शकहरूको सुविधालाई ध्यानमा राख्दै करिब २ हजार क्षमताको अस्थायी प्याराफिट निर्माण कार्यसमेत सुरु गरिएको छ ।