असुरक्षित रुपमा गरिएको गर्भपतनका कारण बुटवलमा महिलाको मृत्यु भएपछि २ जना चिकित्सक सहित ५ जनालाई पक्राउ गरिएको छ । गर्भपतन गराउने क्रममा पाल्पाको वगनासकाली गाउँपालिका वडा नं. २ की गीता पाण्डेको मृत्यु भएपछि उनका आफन्तले दिएको उजुरीका आधारमा चिकित्सकहरु बुटवल ९ इटाभट्टी स्थित खत्री नर्सिङ होमका सञ्चालक डा. डिवि खत्री र अस्पताललाईनमा रहेको इन्दुलेखा स्वास्थ्य संस्थाका सञ्चालक डा. सतिस रुपाखेतीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । त्यस अंगाडि नै इन्दुलेखा स्वास्थ्य संस्थाका सञ्चालक खगेन्द्रप्रसाद पाण्डे तथा जोनल फार्मेसीका सञ्चालक सन्ध्या बस्नेत र निलम घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको थियो ।
खत्री नर्सिङ होममा नियमित चेकजाँच गरेकी पाण्डेले करिव १२ हप्ताको गर्भपतन गराउनका लागि त्यहाँबाट रिफर भई जोनल फार्मेसी र इनदुलेखा क्लिनिकमा पुगेकी थिईन । जवकी यी ३ वटै स्वास्थ्य संस्थामा गर्भपतन सेवा सञ्चालनको लागि स्वीकृत छैन ।
सरकारले सूचिकृत नगरेका स्वास्थ्य संस्थामा लापरवाहीपूर्ण तरिकाले गर्भपतन गराउँदा महिलाको ज्यान गएको हो । लापरवाहीपूर्ण तरिकाले गर्भपतन गराउँदा पाण्डेको मृत्यु भएको भन्दै मृतकका श्रीमान प्रकाश पाण्डेले इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दिएका थिए ।
यो घटनामा नेपाल मेडिकल काउन्सिलले पनि छानबिन गर्ने भएको छ । १२ हप्ताको गर्भ पतन गराउने क्रममा महिलाको मृत्यु भएपछि मृतकका आफन्तले खत्री नर्सिङ होम, जोनल फार्मेसी र इन्दुलेखा क्लिनिकको लापरबाहीका कारण मृत्यु भएको दाबी गर्दै संलग्नमाथि कारबाहीको माग गरेका छन् । उनीहरूले नेपाल मेडिकल काउन्सिलमा समेत निवेदन दिएपछि काउन्सिलले घटनालाई गम्भीर रूपमा लिँदै छानबिन प्रक्रिया अघि बढाउने जनाएको छ ।
काउन्सिलका रजिस्टार डा. सतिश देउका अनुसार घटनाको निष्पक्ष छानबिनका लागि समिति गठन गर्ने तयारी भइरहेको छ । उनका अनुसार पीडित पक्षबाट पनि औपचारिक निवेदन आएकाले आवश्यक छलफलपछि छानबिन अगाडि बढाइने छ ।