बुटवल उपमहानगरपालिका वडा नं. १५ स्थित वेस्टर्न मेगा कलेजमा शिक्षक, विद्यार्थी तथा कर्मचारीलाई लक्षित गरी महिनावारी स्वास्थ्य तथा सरसफाइसम्बन्धि सचेतना कार्यक्रम गरिएको छ । कार्यक्रममा बीएचएम अध्ययनरत विद्यार्थी, कलेजका शिक्षक–कर्मचारी तथा आरम्भ रिसोर्टका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालकी वरिष्ठ नर्सिङ निरीक्षक माधुरी ज्ञवालीले सहजीकरण गर्दै महिलाहरूमा देखिने महिनावारीसम्बन्धी विभिन्न समस्या, त्यसको व्यवस्थापन, उपचार विधि, सरसफाइका उपाय तथा मानसिक र शारीरिक स्वास्थ्यमा पर्ने प्रभावबारे जानकारी दिएकी थिइन् । उनले महिनावारी प्राकृतिक जैविक प्रक्रिया भए पनि पर्याप्त जानकारीको अभावमा धेरै महिला तथा किशोरीहरूले अनावश्यक मानसिक तनाव र शारीरिक पीडा भोग्नुपर्ने अवस्था रहिरहेको बताइन् ।
अन्तरक्रियामा सहभागीहरूले महिनावारीसँग जोडिएका जिज्ञासा र अनुभवहरू राख्दै प्रत्यक्ष संवाद गरेका थिए । कार्यक्रममा महिनावारीसम्बन्धी भ्रम र गलत धारणाहरू हटाउँदै वैज्ञानिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको जनाइएको छ ।

कलेजका प्राचार्य अधिवक्ता किशु शर्माले महिनावारी स्वास्थ्यबारे सही जानकारी अभावका कारण समाजमा अझै विभिन्न समस्या विद्यमान रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थी तथा युवापुस्तामा सकारात्मक चेतना फैलाउन मद्दत पुग्ने बताए । उनले स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिए ।
संयुक्त विभागका उपप्राचार्य तथा अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश खनालको संयोजनमा सम्पन्न कार्यक्रमको सञ्चालन बीएचएम अध्ययनरत छात्रा समिता जिनीले गरेकी थिइन् ।
वेस्टर्न मेगा कलेजमा हाल स्नातक तहअन्तर्गत चारवर्षे बीआईटी र बीएचएम तथा स्नातकोत्तर तहमा एमबीए कार्यक्रम सञ्चालनमा रहेका छन् । कलेजले शैक्षिक गुणस्तरसँगै स्वास्थ्य, नेतृत्व र सामाजिक सचेतनासम्बन्धी कार्यक्रमलाई समेत प्राथमिकता दिँदै आएको जनाएको छ ।