क्रिकेट संघ रुपन्देहीको अध्यक्षमा हरिबहादुर थापा पुनः निर्वाचित भएका छन् । संघको साेमबार सम्पन्न पाँचौँ अधिवेशनबाट थापाले ६९ मत प्राप्त गर्दै दोस्रो कार्यकालका लागि नेतृत्व सुरक्षित गरेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनले ४९ मत प्राप्त गरे । यसअघि चार वर्षअघि भएको निर्वाचनमा पनि गौचन थापासँग पराजित भएका थिए ।
भैरहवाका व्यवसायी तथा होटल एवं कलेज सञ्चालक थापाले नेतृत्व गरेको प्यानलले पदाधिकारीसहित अधिकांश पदमा विजय हासिल गरेको छ । निर्वाचनमा थापा र गौचन पक्षबीच प्यानलसहित प्रतिस्पर्धा भएको थियो ।
निर्वाचन परिणामअनुसार उपाध्यक्षमा खेमराज भुसाल, सचिवमा उदयकुमार मल्लिक तथा कोषाध्यक्षमा धीरज अधिकारी क्षत्री निर्वाचित भएका छन् । महिला सदस्यमा उमा अधिकारी निर्वाचित भएकी छन् । अधिकारी सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख हुन् ।
अन्य सदस्यहरूमा प्रशान्तविक्रम मल्ल, निरजप्रताप खाँण, पुनित पोखरेल, मनोज भण्डारी, भुवन पाण्डे, विजयसिंह ज्ञवाली, कृष्णकुमार कुँवर, ज्वालेसप्रसाद प्रधान, अन्तिम थापा र ताराप्रसाद पाठक निर्वाचित भएका छन् ।